ई–आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति तोडेको छ । सबै बैंकहरुले ब्याजदरमा गरेको सहमति संघले २ बर्ष पछि तोडेको हो । बैंकहरुकै सहमतिमा भद्र सहमति तोडिएको हो । यो सहमति तोडिएसँगै अब बैंकहरुले कायम गरेको निक्षेप ब्याजदर बैंक आफैले तोक्नेछन् । बैंकर्स संघले सबै बैंकहरुको सहमतिमै आफ्नै निर्णय उल्टाएको जानकारी दिएको छ ।
संघको बैठकले ब्याजदरको भद्र सहमति भंग गर्ने सहमति थियो । यो सहमतिसँगै साउन १ गतेबाट बैंकहरुले आ–आफ्नो अनुकुल आफैं नयाँ ब्याजदर निर्धारण गर्नेछन् ।
एकताका यो भद्र सहमतिलाई धेरै महत्वका साथ हेरिएको थियो । भद्र सहमतिले अस्वस्थ प्रतिस्पर्धालाई रोक्न ठूलो मद्दत मिल्ने भन्दै अनिवार्य पालनाको व्यवस्था गरिएको थियो ।
तत्कालिन समयमा भद्र सहमति बाहिर गएपछि एन आई सी एशीया बैंकलाई बैंकर्स संघ र अन्य बैंकहरुले विवादको बिषय बनाएका थिए । संघले एन आई सी एसिया बैंकलाई अन्तर बैंक कारोबार नगर्ने भन्दै एक्लाउने चेतावनी समेत दिए ।
त्यही विवादका कारण त्यहाँका एन आई सी एशियाका तत्कालिन सिइओ लक्ष्मण रिसालले राजीनामा समेत गर्नुपरेको थियो ।
सहमति तोडिए पछिको व्याजदरको अवस्था कस्तो हुने भन्ने प्रतिक्षाको विषय हुने भएको छ । अस्वस्थ प्रतिस्पर्धा भए अब बैंकर्स संघले हैन राष्ट्र बैंकले मात्रै नियन्त्रण गर्न सक्छ ।