ई–आर्थिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पछिल्लो विवाद जटिल कथा हो, जसमा क्रेम्लिन र तालिबान दुवै जोडिएका छन् ।
कथाको सार
गत वर्ष रुसले अमेरिकी सुरक्षा फौजको हत्या गर्न तालिबानलाई ‘बक्सिस’ दिने प्रस्ताव गरेको भन्ने आरोपमा यो विवाद केन्द्रित छ । तर त्यसबारे ह्वाइट हाउसलाई सूचना दिइए पनि कुनै कदम नचालेको भन्ने विषय पनि यससँग जोडिएको छ ।
कस्ले के भने ?
अमेरिकी सञ्चारमाध्यमले रुसी सैन्य गुप्तचर संस्थाले गत वर्ष अमेरिकी सेनाको हत्याको निम्ति त्यस्तो इनाम दिने प्रस्ताव गरेको र राष्ट्रपति ट्रम्पलाई त्यसबारे अवगत गराइएको प्रमाण भएको बताएका छन् ।
द न्यूयोर्क टाइम्सले सफल आक्रमणहरूपछि विद्रोहीहरूले रुसबाट त्यस्तो रकम लिएको विश्वास गरिएको उल्लेख गरेको छ । तर त्यो कुन सैन्य टुकडीका फौजको हत्यामा हो भन्ने प्रस्ट छैन, सन्देहमै छ ।
राष्ट्रपति ट्रम्पले उनलाई कहिल्यै जानकारी नदिइएको बताउँदै त्यो पूर्णतया ठट्टा भएको टिप्पणी गरे । रुसले त्यो दाबीको खण्डन गरेको छ र समाचार झूटो भएको बताएको छ ।
तालिबानले अमेरिकी सैनिकमाथि आक्रमण गरेकोमा रुसबाट नगद लिएको आरोप अस्वीकार गरेको छ ।
‘ट्रम्पले थाहा पाउनु पर्ने हो’
ह्वाइट हाउसले गुप्तचर समुदायमा यी समाचार कति विश्वसनीय हुन् भन्ने बहस अझै चलिरहेको जनाएको छ । तर केही उच्च अधिकारीहरूलाई यो आरोपबारे जानकारी रहेको देखिन्छ । गुप्तचरी प्रतिवेदन अपुष्ट नै भए पनि राष्ट्रपतिसम्म प्रस्तुत गर्न सकिन्छ । जुन बारम्बार गरिन्छ पनि । र, यो प्रतिवेदनबारे पनि ब्रिटेन सहितका सहयोगीहरूलाई समेत जानकारी दिइएको भनिएको छ ।
अहिले के अर्थ राख्छ ?
यो अमेरिका र तालिबान अफगानिस्तानमा जारी १९ वर्ष लामो युद्ध अन्त्य गर्न शान्ति वार्ताको बीचमा पुगेका बेला त्यसलाई कमजोर तुल्याउने खालको छ । यो प्रकरणले अमेरिका र रुसको सम्बन्धलाई पनि बिगार्न सक्छ ।
रुसले यस्तो किन गर्थ्यो ?
विज्ञहरूले अमेरिकाको विश्वव्यापी प्रभाव कमजोर तुल्याउने रुसको उद्देश्यसँग यो रणनीति मिल्ने बताउँछन् । उसले तालिबान पछि फर्कियोस् भन्ने चाहन्छ किन कि उसले त्यसलाई कट्टरपन्थी इस्लामवादीविरुद्धको सम्भावित व्यवधानको रूपमा हेर्ने गर्ने बीबीसीमा उल्लेख छ ।