ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख ५ हजार ६८ जना पुगेको छ । विश्वमा कोरोना भाइरस सम्बन्धि तथ्यांक अपडेट गरिरहेको वेबसाइट वल्र्डोमिटरका अनुसार कुल सङ्क्रमितको सङ्ख्या एक करोड २ लाख ७५ हजार १२२ रहेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । त्यहाँ एक लाख २८ हजार ४३४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि विश्वमा सबैभन्दा बढी २६ लाख ३७ हजार १८० जना रहेका छन् । अमेरिकामा सङ्क्रमण बढ्ने डरले अमेरिकनहरु त्रासित छन् ।
भाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ र त्यो जुलाई महिनामा उच्च विन्दुमा पुग्ने ठानिएको छ । विश्वका कुल सङ्क्रमितमध्ये आधा अमेरिका र युरोपमा छन् ।
अधिकांश युरोपली देशहरूले त्यहाँ स्थिति नियन्त्रणमा रहेको विश्वास गरिरहेका बेला अमेरिकामा भने सङ्क्रमण जङ्गलमा लागेको डढेलो जसरी फैलिरहेको छ ।
तथ्याङ्क अनुसार अमेरिकापछि सबैभन्दा प्रभावित देश ब्रजिल हो । १३ लाख ४५ हजार ४७० सङ्क्रमित रहेको ब्रजिलमा ५७ हजार ६५९ जनाको मृत्यु भइसकेको छ । ब्राजिलपछि सबैभन्दा धेरैको मृत्यु हुने देशहरूमा ब्रिटेन, इटली र फ्रान्स छन् ।
तर बढी सङ्क्रमितहरू भएका देशहरूमा तेस्रोस्थनमा रहेको रुसमा छ लाखभन्दा धेरै र भारतमा ५ लाखभन्दा बढी सङ्क्रमित छन् । त्यस्तै पाँचौँ स्थानमा रहेको ब्रिटेनमा सङ्क्रमितको सङ्ख्या तीनलाख भन्दा बढी छ । रुस र भारतमा मृत्यु हुनेको सङ्ख्या कम भए पनि सङ्क्रमणको गति तीव्र छ ।
प्रभावित सबै मुलुकहरुमा मृत्यु र संक्रमित हुने क्रम जारी रहेको छ । स्थानीय अधिकारीहरुले यी संख्याहरुमा निरन्तर बृद्धि भइरहने अनुमान लगाएका छन् ।