ई–आर्थिक, काठमाडौँ : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) को डिनमा प्रा.डा. दिव्यासिंह शाहलाई नियुक्तमा सत्ता पक्षकै विद्यार्थीले विरोध गरेका छन् ।
विरोधमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले आईओएमको कार्यालयमा तालाबन्दी गरेको छन् ।
वरिष्ठता मिचेर शाहलाई नियुक्त गरिएको भन्दै निर्णय सच्याउनुपर्ने विद्यार्थीहरुले माग गरेका छन् । महाराजगन्जस्थित डिनको कार्यालयमा महाराजगन्ज चिकित्सा क्याम्पस कमिटिले ताला लगाएको हो ।
‘डिनको रिक्तता, सर्च कमिटीको बनावट, त्यस कमिटीले गरेको अवैज्ञानिक सिफारिस अमुक व्यक्तिलाई डिन नियुक्त गर्न गरिएको डिजाइन स्पष्ट छ,’ क्याम्पस कमिटीका अध्यक्ष विनय पंगेनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा उच्च पदस्थ राजनीतिक व्यक्तित्वको चाकडी गरी पद हत्याउने प्रवृत्तिको घोर भर्त्सना गर्दछौं भनिएको छ ।
प्राध्यापक डा. गोविन्द केसीको आन्दोलनले स्थापित गरेको योग्यता, क्षमता र वरिष्ठताको आधारमा डिन नियुक्ति गर्ने थितिलाई निरन्तरता दिन अखिलले माग गरेको छ । त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्त गर्ने निर्णय नसच्याएसम्म तालबान्दी र आन्दोलनको कार्यक्रम जारी राख्ने पंगेनीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति धर्मकान्त बाँस्कोटाले वरिष्ठताको सूचीमा ३३ औं नम्बरमा रहेकी शाहलाई नियुक्ति गरेका हुन् । शाह प्रधानमन्त्री ओलीको निजी चिकित्सक समेत हुन् । उनको नियुक्तिमा आईओएमका चिकित्सक र कर्मचारी पनि असन्तुष्ट रहेका छन् ।
शाहलाई गरिएको नियुक्तीको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीको कडा आलोचना गरेका छन् । ।