२०८३ साउन १० आइतबार

आत्महत्या गरेका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

ई आर्थिक    बिहिबार, असार ४ २०७७
8.6K
Shares
आत्महत्या गरेका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

ई–आर्थिक, काठमाडौं । आत्महत्या गरेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुष र सुर्खेतको सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भेटिएको हो ।

अर्घखाँचीका ती युवाको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिअनुरूप मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

ती पुरुष जेठ १० गते भारतको पन्जाबबाट फर्केका थिए । भारतबाट फर्केकै दिनदेखि उनी क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेको १४ दिनमा गरिएको आरडिटीमा रिपोर्ट पोजेटिभ आएको थियो । उनीसहित अन्य तीनजनाको रिपोर्ट पोजेटिभ आएपछि जेठ २३ गते नै थ्रोट स्वाब झिकी २४ गते परिक्षणका लागि भैरहवा पठाइए पनि रिपोर्ट नआउँदै बुधबार बिहान उनले आत्महत्या गरेका थिए ।

उनको शव आफू सुत्ने बिस्ताराको तन्दाको पासो लगाई स्कुलपछाडिको रूखमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

आरडिटी पोजेटिभ देखिएको र पिसिआर रिपोर्ट आइनसकेको अवस्थामा शव व्यवस्थापनमा केही ढिलाइ भएको थियो । रिपोर्ट आउन ढिलाइ हुँदा दिनभर मृतकको शव रूखमै झुन्डिरहेको थियो । रिपोर्ट पाउने बित्तिकै शब व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको थियो ।

त्यसैगरी झुन्डिएर आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनले सोमबार घरनजिकै झुन्डिएर आत्महत्या गरेकी थिइन् । बुधबार गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

ती युवती आफ्ना पति र तीन वर्षकी छोरीसहित गत जेठ १२ गते भारतबाट फर्किएकी थिइन् ।

मृतक युवती स्थानीय तहले बनाएको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । उनको आरडिटी परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij