दैलेख, जेठ २३ गते । दैलेखमा कोरोनाभाइरस सङ्क्रमणकाे सङ्ख्या दिनदिनै बढ्न थालेपछि दैलेख जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
विहीबारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि प्रशासनले जिल्लाका दुई नगरपालिकामा लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
दैलेखमा २१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा न ११ का ३५ वर्षे युवकको कोरोना सङ्क्रमण कारण मृत्यु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा जारी गरिएको निषेधाज्ञासम्बन्धी विज्ञप्तिमा कोरोना भाइरस सङ्क्रमणले जिल्लामा भयावह स्थिति सिर्जना हुन लागेपछि त्यसको नियन्त्रण्का लागि निषेधाज्ञा जारी गर्नुपरेको उल्लेख गरिएको छ ।
प्रशासनले अर्को आदेश नभइन्जेलका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ ।
