ई–आर्थिक, काठमाडौं । आयोजना र सार्वजानिक खरिदका कार्यहरु तोकिएको समयमा सम्पन्न नहुने ‘रोग’लाई न्यूनिकरण गर्न सरकारले नयाँ जुक्ति ल्याएको छ ।
सरकारले समयमै काम सक्ने ठेकदार र कर्मचारीहरुलाई पुरस्कार र प्रशंसापत्र प्रदान गर्ने भएको छ ।
सरकारले आयोजना तथा सार्वजनिक खरिदका कार्यहरु तोकिएको समयमै नसकिने समस्या समाधान गर्न प्रोत्साहनमुलक व्यवस्था ल्याएको हो ।
पहिलोपटक कानूनमा व्यवस्था गरिएको उक्त व्यवस्था सरकारले संसदमा दर्ता गरेको सार्वजनिक खरिद ऐन–२०६३मा सरकारले पहिलोपटक सम्झौता गर्दा तोकिएको अवधिभित्र काम सकिए कर्मचारी र ठेकदारलाई पुरस्कार, प्रोत्साहन सुविधा र प्रशंसापत्र दिने व्यवस्था गरिएको हो ।
प्रस्तावित विधेयक जस्तोको तस्तै पारित भए सुरुमा निर्धारित समावधिभित्रै गुणस्तरीय रुपमा निर्माणको काम सक्ने व्यवसायीलाई पुरस्कार स्वरुप तोकिए बमोजिमको रकम र प्रशंशापत्र दिने प्रचलन सुरु हुने भएको छ ।
यो व्यवस्था अनुसार ठेकदारलाई मात्रै हैन समयमै राम्रो काम भएमा सरकारी अड्डाका कर्मचारीलाई पनि यस्तै व्यवस्था प्रस्ताव गरिएको छ ।
खरिद सम्बन्धी काम निर्धारित सुरु समयावधिभित्रै गुणस्तरीय रुपमा सम्पादन गरेर उत्कृष्ट नतिजा प्राप्त भएको आधारमा त्यस्तो खरिद कार्यमा संलग्न कर्मचारीलाई तोकिए बमोजिम प्रोत्साहन सुविधा दिन सकिने व्यवस्था गरिएको हो ।
प्रोत्साहनसँगै कानून विपरीत खरिदसम्बन्धी काम गरेको पाइएमा कर्मचारीलाई कारवाही गर्नसक्ने व्यवस्था पनि यो विधेयकमा उल्लेख गरिएको छ ।
प्रोत्साहित यो विद्येयकले ठेकदार र कर्मचारीमा नयाँ किसिमको उर्जा र उत्साह आउने र समयमै आयोजना निर्माण सम्पन्न हुने विश्वासका साथ यस्तो व्यवस्था ल्याउन लागिएको बुझिएको छ ।