२०८३ साउन ११ सोमबार

उच्च घरानिया जुवाडेलाई सस्तो कारवाही, हाजिरी जमानी रिहा

ई आर्थिक    बुधबार, जेष्ठ २१ २०७७
9.9K
Shares
उच्च घरानिया जुवाडेलाई सस्तो कारवाही, हाजिरी जमानी रिहा

काठमाडौं । कोरोना संक्रमण न्यूनीकरणका निम्ति सरकारले समाजिक दूरी कायम गराउन जारी गरेको लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेका छ ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको भए पनि प्रहरीले सबै जनालाई हाजिर जमानीमा छोडेको छ । कोरोनाको संक्रमण हुन सक्ने कारण देखाएर उनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउँसो प्रहरी कार्यालयमा हाजिर हुन आउने भनिए पनि राजनीतिक तहबाट चर्को दबाबका कारण थुनामा नराखिएको स्रोत जनायो ।

पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न नसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार जुवाडे व्यापारी छुटाउन बहालवाला र भूतपूर्व प्रहरीका उच्च अधिकारीहरूसमेत हात धोएर लागेका थिए । व्यक्तिसम्बन्धका आधारमा पक्राउ परेका जुवाडे व्यापारीलाई छुटाउन उनीहरुले विभिन्न तिक्रडम गरेका थिए ।

प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद बरामद गरेको जनाएको छ । साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको उल्लेख छ । स्रोतले भन्यो– ‘जुवामा प्रयोग भएका क्वाइन र चिप्सको मूल्यांकन सयमा होइन १० हजार रुपियाँमा गरिएको हुन सक्छ । अर्बौपति व्यापारीको खालमा १००/५० खेल हुँदैन १ हजार रुपियाँको क्वाइनलाई ५० हजार वा लाखमा गणना गरिएको हुनसक्छ । त्यसका लागि सूक्ष्म अनुसन्धानको खाँचो छ ।’

जुवाको खाल चलेको सूचनाका आधारमा प्रहरी छापा मारेपछि उच्च घरानियाँ व्यापारी रहेको रहस्य खुलेपछि प्रहरीलाई घटनालाई सामान्यकरण गर्न गाह्रो परेको छ । ‘अहिले ९ जना व्यापारीको साथबाट करिब ३ लाख नगद बरामद भएको मुचुल्का तयार गरिएको छ ।

विभिन्न बैंक, बीमा कम्पनीका सञ्चालक, अर्बौपति उद्योगपतिको खेल कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ’, स्रोतले भन्यो– ‘त्यहाँ अन्य गतिविधिहरु प्नि भएको सुराकी प्रहरीलाई आएको थियो । कि प्रहरीले अन्य जानकारी लुकायो कि जानकारी पाएन ।

जुवा मात्रै होइन त्यहाँ अन्य हुने अन्य गतिविधिमाथि पनि अनुशन्धान केन्द्रित गर्न जरुरी देखिन्छ ।’ पक्राउ परेका व्यापारीले सरकारले बजेट निर्माणसम्म पहुँच राख्छन् भन्ने उदाहरण एक साताअघि प्रस्तुत आगामी आर्थिक वर्षको बजेटबाट स्पष्ट भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधानमा चर्को कर लगाएको छ । तर, बजेट प्रस्तुत हुनु केही समयअघि विशाल ग्रुपले ल्याएको १७५ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भयो । यसबाट राज्यलाई करिब ५५ करोड रुपियाँ राजस्व नोक्सान भएको प्रारम्भिक अनुमान छ । राजस्वको दर बजेट सार्वजनिक हुनुअघि नै जानकारी पाउने व्यापारी अहिले जुवाको खालबाट समातिएका छन् । उनीहरूलाई जोगाउन सरकारका मन्त्री नलाग्ने कुरा भएन, फिल्डको प्रहरी त विचारमात्रै हो, स्रोतले भन्यो ।

नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij