२०८३ असोज २ शुक्रबार

भारतको सलह आतंक नेपाल भित्रिने अनुमान, सचेत रहन कृषि विज्ञको आग्रह

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०७७
9.6K
Shares
भारतको सलह आतंक नेपाल भित्रिने अनुमान, सचेत रहन कृषि विज्ञको आग्रह

ई–आर्थिक, काठमाडौं । भारतको राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशलगायतका स्थानमा सलह आतंकका कारण ठूलो मात्रामा बालीनाली नष्ट भएको छ ।

कोरोना भाइरसको महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । सलहको आतंकले विशेषगरी कृषक र कषि क्षेत्रलाई आतंकित बनाएको हो । सलह फट्यांग्रा प्रजातिअन्तर्गतको एक किसिमको कीरा हो । यो अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको बताइन्छ ।

सलहको एउटा सामान्य हुल एक वर्गकिमि देखि कैयौं वर्ग किमि क्षेत्रफलसम्म फैलने गर्छ । एक वर्गकिमिमा फैलिएको बथानमा ४ करोडदेखि ८ करोडवटासम्म सलह हुने गरेको अनुमान छ । अझ ठूला हुलमा त त्यो संख्या अरबसम्म पुग्ने गर्छ ।

सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति पुर्‍याउने गरेकोे छ । यसरी कषि उपजलाई क्षति पु¥याउने भएकाले सलहलाई पनि फौजी कीराकै वर्गमा राखिएको छ । विगतका वर्षहरुमा सलहको हुल भारतलगायतका दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यस वर्ष केही पहिले नै आएको छ । सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गई संकट थप गहिरिने त्रास बढेको छ ।

भारतमा सामान्यतः गर्मीयाममा पाकिस्तानको सीमा हुँदै पश्चिम राजस्थान र गुजरातमा सलह प्रवेश गर्ने गर्छ । तर, यस वर्ष भने चैतको अन्त्यतिर नै सलह देखिएको थियो । हाल भारतका राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहले ठूलो मात्रामा बालीनाली नष्ट पारेको छ ।

भारतमा अहिले देखिएको सलह अफ्रिकी मूलको भएको र पछि इरान र पाकिस्तानमा प्रजनन हुँदै गएको बुझिएको छ । हुल बाँधेर हिँड्ने यो कीराले हजारौं किलोमिटर यात्रा गर्न सक्छ ।

पछिल्ला दिनहरुमा नेपालका तराई क्षेत्रमा गर्मी अत्यधिक बढेका कारण उत्तरप्रदेशतिर र दिल्लीतर्फ अगाडि बढेको सलहको हुल नेपालतर्फ पनि सोझिन सक्ने खतरा रहेको छ । वैज्ञानिकहरुका अनुसार उच्च तापक्रमले हावामा चप न्यून हुँदा उड्न सहज हुने भएकाले सलहको हुल अत्यधिक गर्मी भागतर्फ जाने सम्भावना बढी रहन्छ । यसलाई आधार मान्दा पनि नेपाल पनि सलहको प्रकोपको जोखिममा रहेको देखिन्छ ।

भारतसम्म आइपुगेको यो सलह नेपालमा पनि आउने संभावनाका बिच सचेत रहन नेपालका कृषि विज्ञहरुले सचेत गराइरहेका छन् । यसको रोकथामका सरकारले उचित कदम चाल्नु पनि आवश्यक ठानेको छ ।

एउटा सलहले हरेक दिन आफ्नो तौलबराबर करिब २ ग्रामबराबर खानेगर्छ । एउटा सानो हुलले हरेक दिन २ हजार ५ सय जनाले खानेबराबरको खाद्यबाली खान सक्ने विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै भारतीय सञ्चरामाध्यमहरुले जानकारी दिएका छन् ।

सामान्यतस् भारतमा आउने सलह एकपटक वर्षाका बेला प्रजनन भएर र असोज लाग्दासँगै बाहिरिने गरेकोमा गत वर्ष वर्षा ढिलोसम्म भएको र यस वर्ष प्रिमनसुन पनि धेरै भएकाले तीनपटकसम्म प्रजनन भएको हुँदा संख्यामा पनि उल्लेख्य वृद्धि भएको दाबी गरिएको छ । जसका कारण यस वर्षको सलहको हुल अघिल्ला वर्षहरुभन्दा निकै ठूलो भएको बताइएको छ ।

यस वर्ष वैशाखको सुरुवातमै भारत र पाकिस्तानको सीमा देखिएको बताइएको छ । राजस्थानमा एक महिनाअघि यसले त्रासदी मच्चाइसकेको छ । यसले राजस्थान, हरियाणा र मध्यप्रदेशमा गहुँलगायतका कृषि बालीमा ठूलो मात्रामा क्षति पुर्‍याइसकेको छ ।
राजस्थान र गुजरातका केही भागमा त मंसिर र पुस महिनामै सलहको प्रकोप देखिएको बताइएको छ । तर, पछिल्लो समय सलहको हुल निकै बढेको र उत्तरप्रदेश, दिल्ली, पन्जाबतिर बढिरहेको बताइएको छ । भारतको उत्तरप्रदेश र पन्जाब कृषि उपजका लागि चिनिएका राज्य हुन् ।

विश्व खाद्य संगठनले सलहको प्रकटका कारण कृषि उत्पादनमा असर पर्ने चेतावनी दिएको थियो ।

सलहको सम्भावित प्रकोपलाई ध्यानमा राख्दै भारतका विभिन्न राज्य सरकारहरुले किसानहरुलाई पूर्वसावधानी अपनाउन आग्रह गरेका छन् । सलहको हुल राज्यस्थान हुँदै दिल्लीतर्फ सोझिन थालेपछि दिल्ली राज्य सरकारले सलहको सम्भावित आक्रमणबाट बच्न एड्भाइजरी जारी गरेको छ । विशेषगरी खाद्यान्न बालीलाई हुन सक्ने क्षतिलाई मध्येनजर गर्दै उक्त एड्भाइजरी जारी गरिएको हो ।

जसअन्तर्गत सलहको हुललाई रोकिन नदिन विभिन्न उपायहरु अवलम्बन गर्न सुझाइएको छ । त्यसैगरी सलहको आक्रमणबाट खाद्यान्न बालीमा हुने क्षति रोक्नका लागि विभिन्न विषादीको प्रयोग गर्न राज्य सरकारले किसानहरुलाई आग्रह गरेको छ । त्यसैगरी कृषि उत्पादनका लागि भारतकै अग्रणी राज्यमा चिनिने पन्जाबले पनि सम्भावित सलह प्रकोपका लागि सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij