बीबीसी, काठमाडौं । कोभिड-१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्।
उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए।
ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ-आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन्। यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए।
सङ्घीय सरकारको साथ
ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए। अमेरिकामा ६ लाख ५४ हजार तीन सय पुष्टि भएका केसहरू र ३२ हजार एक सय ८६ मृत्यु भइसकेको छ। यस्तो अबस्थामा ट्रम्पले केही राज्यहरू यस महिनामा फेरि खुल्न सक्छन् भनेका छन्। बिहीबार आफ्नो दैनिक ब्रीफिंगमा राष्ट्रपति ट्रम्पले “हाम्रो युद्धको अर्को मोर्चा – अमेरिका फेरि खुल्ने छ” भने। “अमेरिका खुला हुन चाहन्छ र अमेरिकीहरू पनि खुला हुन चाहन्छन्,” उनले भने,”देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन।”
उनले भने कि लामो समयसम्म तालाबन्दीले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने जोखिम हुनेबताए।
चेतावनी
उनले औषधी र रक्सीको दुरुपयोग हुने, मुटुरोगलगायत अन्य “शारीरिक र मानसिक” समस्याहरूमा “तीब्र वृद्धि” हुने चेतावनी दिए। ट्रम्पले “सर्तहरू पूरा भए” स्वस्थ्य नागरिकहरू काममा फर्किनसक्ने पत्रकारहरूलाई बताए। उनले अमेरिकीहरूलाई सामाजिक दूरी कायम गर्न र यदि स्वस्थ महसुस नगरे घरमै बस्न भनिने पनि बताए। उनले अमेरिकाको अर्थतन्त्र पुन: खोल्ने विषय “एक पटक चालिने एउटा सावधानीपूर्ण कदम” हुने बताए।
ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुन: खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ। उक्त निर्देशिका अनुसार कुनै क्षेत्र महिनादिन लामो मूल्याङ्कनपछि सामान्य अवस्थामा फर्किनसक्ने छन्। तर सङक्रमण धेरै रहेका र सङक्रमणको दर वृद्धि भएका ठाउँमा भने त्यो भन्दा बढी लाग्न सक्छ।
तर आलोचकहरूले भने भाइरसले निम्त्याएको सङ्कट छिट्टै टर्छ भन्नेबारे राष्ट्रपति चाहिनेभन्दा बढी आशावादी भएको बताएका छन्।