ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । वल्डोमिटर्सका अनुसार कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभरमा हालसम्म १ लाख २ हजार ७ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको संख्या पनि १७ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या १६ लाख ९९ हजार ६ सय ३१ रहेको छ ।
त्यसैगरी कोरोनाभाइरस संक्रमित मध्ये ३ लाख ७६ हजार ३ सय २७ जनालाई निको भएको पनि वल्डोमिटर्सले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी इटालीका रहेका छन् । इटालीमा मात्रै उक्त भाइरसका कारण १८ हजार ८ सय ४९ ले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै अमेरिकामा पनि मृत्यु हुनेको संख्या बढ्दो छ । इटाली पछि अमेरिकामा बढि मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म १८ हजार ७ सय ४७ ले ज्यान गुमाएका छन् । त्यसैगरी स्पेनमा १६ हजार ८१ जनाले ज्यान गुमाइसकेका छन् भने फ्रान्समा १३ हजार १ सय ९७ ले ज्यान गुमाएका छन् ।
त्यसपछि बढि प्रभावित मुलुक मध्ये युके रहेको छ । त्यहाँ ८ हजार ९ सय ९५ ले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा ४ हजार २ सय ३२, चीनमा ३ हजार ३ सय ३९ र बेल्जीयममा ३ हजार १९ जनाले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ सय ४९ जना पुगेको छ ।
सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ ५ लाख २ हजार ८ सय ७६ जनामा सङ्क्रमण भएको पाइएको छ ।
भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार छ सय रहेको छ ।
एप्रिल महिनाको पहिलो सात दिनमा एउटा औसत हप्ताको भन्दा दुई हजार बढी मानिसको ज्यान गएको तथ्याङ्कले देखाउँछ ।
ती सबै मृत्यु कोरोनाभाइरस महामारीकै कारणले भएको हुन सक्छ । त्यो सङ्ख्या अभिलेख गरिएको कोभिड–१९ बाट मृत्यु हुनेहरूको सङ्ख्याभन्दा दुई गुणाले बढी हो ।
भाइरस संक्रमण, मृत्यु र रोकथामको लागि चौतर्फी प्रयास भइरहे पनि यो क्रम रोकिने भन्दा पनि बढ्दो छ ।