ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज गरिएको छन् । मिर्गौला प्रत्यारोपणको १० औं दिन उनलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न ओली यही फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
डिस्चार्ज भएर बालुवाटार फर्किने क्रममा प्रधानमन्त्री ओलीले शुभेच्छुकलाई हात हल्लाएर अभिवादन स्वीकार गरेका थिए ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।
अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो ।
अस्पतालबाट डिस्चार्ज भए पनि प्रधानमन्त्री ओली बालुवाटारमा चिकित्सकको निगरानीमै रहने छन् । प्रधानमन्त्री ओलीले भर्ना हुनु अघि नयाँ उर्जा लिएर आउने बताएका थिए ।