२०८३ साउन ९ शनिबार

वैकल्पिक बजार खोज्दै वायुसेवा प्रदायक कम्पनीहरू

ई आर्थिक    सोमबार, फाल्गुन २६ २०७६
4.9K
Shares
वैकल्पिक बजार खोज्दै वायुसेवा प्रदायक कम्पनीहरू

सिबी अधिकारी, काठमाडौं : कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन्। कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नु परेको जनाएका हुन् ।

मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको छ। होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ। कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेल शर्माले बताए। हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकोप्टर व्यवसाय मारमा परेको बताए ।

वसन्त ऋतुको अगाडि आरोहीलगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए। हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन्। सोही अनुपातमा अन्य हेलिकोप्टरको पनि बुकिङ रद्द हुने क्रम बढेको संघले जनाएको छ। अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकोप्टर कम्पनीका ३३ हेलिकोप्टर छन्। यीमध्ये ३० हेलिकोप्टर उडानयोग्य छन्। अहिले दैनिक एक/दुई वटा मात्र उडान भइरहेको कम्पनीले जनाएका छन् । त्यसैगरी जहाजतर्फ आन्तरिक उडानमा नौ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन्। महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक तीन हजार यात्रु घटेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो सङ्ख्या दैनिक चार हजार बढाएर सात हजार पुर्‍याउने योजना थियो। सबैभन्दा बढी हेलिकोप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ। जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतको उडान संख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ ।

विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तब्यमा व्यवसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकोप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको संघले जनाएको छ। व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकोप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन १० हजारको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए। त्यसैगरी मुख्य पर्यटकीय क्षेत्र पोखरालगायत गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ ।

आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’ लगायत व्यवस्था गरिने व्यवसायीको भनाइ छ। अहिलेको अवस्था निरन्तर रहे हेलिकोप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै संघका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे। उनले भने, ‘कोरोनाको प्रभावले हवाई क्षेत्रमा अबको तीन महिनामा चार अर्ब क्षति हुने अनुमान गरेका छौँ। अहिले जहाजको इन्स्योरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ। त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ।’ लाखौँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन्। त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ ।

वायु सेवा सञ्चालक संघले शुक्रबार विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो। नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब चार अर्ब क्षति हुने संघको अनुमान छ। अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ। अबको तीनदेखि छ महिना यसको असर देखिने व्यवसायीको आँकलन छ। नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ। कोरोनाको प्रभावले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा ०.४ प्रतिशत असर पुग्ने एशियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ ।

वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन्। व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कति क्षति पुग्छ भनी व्यवसायीसँग यकिन विवरण लिएर सरकारलाई सिफारिस गरिने बताए। अंग्रेजी वर्ष सन् २०२० को फेब्रुअरीसम्मको अवस्थालाई हेरेर के कति क्षति हुने र कस्ता विषयमा राहत र सहुलियत दिने भन्नेबारे सिफारिस गरिने उहाँले उल्लेख गरे ।

वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ। हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउनसमेत व्यवसायीले अनुरोध गरेका छन्। छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै संघले आन्तरिक वायुसेवा कम्पनीकोसमेत व्यापार घटेको जनाएको छ ।

विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै संघले सोही कारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ। संघले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको संख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिनातलब छुट्टीमा जान प्रोत्साहित गर्ने र सेवासुविधा कटौती गर्ने समेतका कार्य गरिने निर्णय गरेको छ। विश्वका ९५ देशमा ‘कोभिड–१९’ को सक्रमण फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित व्यक्तिको संख्या एकलाख नाघिसकेको छ। यस रोगबाट हालसम्म तीन हजार ५०० जनाको मृत्यु भएको छ।
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij