२०८३ साउन १० आइतबार

नेपाल बङ्गलादेश बैंकको नाफा ८० करोड ७७ लाख रुपैयाँ

ई आर्थिक    बुधबार, माघ २२ २०७६
5.9K
Shares
नेपाल बङ्गलादेश बैंकको नाफा ८० करोड ७७ लाख रुपैयाँ

ई–आर्थिक, काठमाडौं। नेपाल बङ्गलादेश (एनबी) बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ४४ लाख रुपैयाँ अर्थात १.८२ प्रतिशत मात्र बढी हो।

गत वर्ष यो बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । वितरण योग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी २.९५ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ७.०९ प्रतिशतले बढेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः २०.३० र १२.७० प्रतिशतले बढेको छ ।

असोजदेखि पुससम्मको नाफा वृद्धि दर साढे १७ प्रतिशतले घटेको छ। पुससँग तुलना गर्दा मात्र बैंकको नाफा १.८२ प्रतिशतले बढेर ८० करोड ७७ लाख रुपैयाँ पुगेको हो।

बैंकले नाफा र ब्यापारमा खास सुधार गर्न नसकेपनि ऋणीका लागि आधार दर र स्प्रेड दर दुबै घटाएको छ। बैंकको स्प्रेड ५.१ प्रतिशतबाट घटेर ४.८ प्रतिशतमा झरेको छ भने आधार दर १०.८२ प्रतिशतबाट घटेर ९.९२ प्रतिशतमा आएको छ। स्प्रेड घटेका कारण पनि बैंकको नाफा थोरै मात्र बढेको हो।

बैंकले असारदेखि असोजसम्म खासै निक्षेप बढाउन सकेको थिएन। तर कात्तिकदेखि पुससम्म आउँदा बैंकले ३ अर्ब ७४ करोडले निक्षेप बढाएर ६३ अर्ब १२ करोड पुर्‍याएको छ।

बैंकले ऋण विस्तार असारदेखि पुससम्म ५ अर्ब २० करोडले गर्दा कात्तिकदेखि पुससम्म २ अर्ब ८ करोडले बढाएको छ। बैंकको कुल ऋण लगानी ५७ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ। बैंकको कुल ब्याज आम्दानी १२ प्रतिशतले बढ्दा खर्च २५ प्रतिशत हाराहारीले बढेको छ। यही कारण खुद ब्याज आम्दानी करिब ३ प्रतिशतले घटेको छ।

यसको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ । तर वित्तीय विवरणमा यसलाई पुँजीकरण गरिएको छैन । तथापि, बोनसपछि यसको पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यसको रिजर्भ कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात १.७८ प्रतिशतबाट बढेर १.९२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुवै बढेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ४२ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij