ई–आर्थिक, काठमाडौं । उद्योगी नेताहरुको पदीय ब्यबस्थापन गरी उद्योग बाणिज्य महासंघलाई बिबादरहित बनाउँदै चुस्त दुरुस्तढंगले सन्चालन गर्न बिधान संशोधनको तयारी भएको छ । नेत्तृत्व तहमा राम्ररी पदीय ब्यबस्थापन नहुदा असन्तोष बढ्ने र त्यसले समग्र संगठनलाई नै क्षति पु¥याउने सक्ने जोखिमलाई ध्यानमा राखेर महासंघको बिधान संशोधनको तयारी भएको हो ।
बिधान संशोधनको मूल उद्देश्य उपाध्यक्षको संख्या बढाउनु रहेको महासंघ स्रोतले जानकारी दिएको छ । अहिले महासंघमा उपाध्यक्षको संख्या तीन रहेको छ । यसमा एक बृद्धि गरी चार पु¥याइने स्रोतको दाबी छ । उपाध्यक्ष थप गर्ने क्षेत्रसमेत निश्चित भइसकेको स्रोतले बतायो । जिल्ला नगर क्षेत्रबाट एक उपाध्यक्ष थप गर्ने स्रोतको भनाई छ । यो क्षेत्रबाट एक जना मात्र उपाध्यक्षको बिधानले ब्यबस्था गरेको हुदा संशोधन गरी दुई बनाउन लागिएको हो ।
महासंघमा ११० जिल्ला तथा नगर समितिहरु छन् । अन्य थप ४५ वटा जिल्लानगर संगठनहरु पनि महासंघमा आवद्ध हुँदैछन् । यति ठूलो क्षेत्र भए पनि अहिले यहाँबाट एकजना मात्र उपाध्यक्ष रहने ब्यबस्था छ । अब यो क्षेत्रबाट दुई उपाध्यक्ष हुने बैधानिक ब्यबस्था गर्न लागिएको हो । आगामी चैत्र २९ गते महासंघको हुने चुनाबबाट अध्यक्ष हुने पक्कापक्की भएका चन्द्र ढकालको समूह बिधान संशोधन गरेर पदीय ब्यबस्थापन गर्ने सोचमा देखिन्छ । ढकाल आफ्नो कार्यकाल बिबादरहित र सबैको सहयोग होस भन्ने चाहन्छन् । यसका लागि नेताहरुको ब्यबस्थापन चुनौतिपूर्ण रहेको उनको बुझाई देखिन्छ ।
जिल्ला नगर क्षेत्रलाई कामकाजी बनाउन दुई उपाध्यक्षको आवश्यकता रहेको सबैले महसुस पनि गरेका छन् । यसअघि गएको असोजमा पनि बिधान संशोधनको कुरा उठेको थियो । त्यतिबेला बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने ब्यबस्थासमेत संशोधन गर्न लागिएको भन्ने चर्चा चलेपछि संशोधन निकै बिबादित बनेको थियो । खासगरी शेखर गोल्छा समूहले त्यसमा आपत्ति जनाएको थियो । उनी महासंघको बरिष्ठ उपाध्यक्ष थिए ।
विधान संशोधनको विषयलाई लिएर महासंघका ठूला नेताहरु बिबादित हुदै धु्रबीकृत भएपछि प्रक्रिया नै स्थगित भएको थियो । यो बिषय किनारा लागिसकेको हुदा उपाध्यक्ष थप गर्न बिधान संशोधनको अब बिरोध नहुने उद्योगीहरु बताउँछन् । त्यसबेला महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल नेतृत्वमा विधान संशोधनको तयारी भएको थियो थियो ।
दशैंमा शुभकामना आदान–प्रदान कार्यक्रममा यस बिषयले प्रबेश पाएपछि एकाएक बिबादले उग्र रुप लियो । हालका ३ जना उपाध्यक्षहरु चन्द्र ढकाल, उमेश श्रेष्ठ र किशोर प्रधान बिधान संशोधनको पक्षमा उभिएका थिए । अहिले भने परिस्थिति अलि फरक छ । ढकाल र श्रेष्ठ संशोधनको पक्षमा छन् भने प्रधान नगर्ने पक्षमा उभिएका छन् । बिधान संशोधन गर्न आवश्यक भए पनि आगामी चुनाव भन्दा अगाडि भने नहुने केही व्यवसायीहरु बताउँछन् । चैत्र २९ गते नै विधान संशोधन हुन सक्ने उनीहरुको दाबी छ ।