ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई सामसुङ मोवाइल खरिदमा विशेष छुट दिइने भएको छ । बैंक र मोवाइल विक्रेता कम्पनीबीच ग्यालेक्सी एस१०/एसटेन प्लस र सामसुङ ग्यालेक्सी नोट १०/१० को खरिदमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै पाउस र क्युआरमा प्रयोग गरी उक्त मोवाइल खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम् रु. ३,०००/– सम्म छुट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापितले आदानप्रदान गर्नुभयो । यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने विश्वास बैंक र कम्पनीले लिएका छन् ।
बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई अत्याधिक प्रबद्र्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरी विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट भएको बैंकले जानकारी दिएको छ ।
उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्नुहुनेछ जुन बैंकले आफ्नो वेबसाइटमा अध्यावधिक गरिराखेको छ ।
विद्युतिय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट पाउस तथा १२,००० भन्दा बढि स्थानहरुबाट क्यूआर सेवा प्रदान गर्दै आइरहेको छ । उक्त संख्या हाल बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मध्ये पर्ने बैंकले दाबी गरेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।