ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने गरी यस बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको छ ।
यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गर्नुभयो ।
पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पोस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।
बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जानकारी दिएको छ ।