ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक र सहयोगी विकास बैंकबीच उक्त सम्झौता भएको हो ।
एक कार्यक्रमबीच सिटिजन्स बैंकक संचालक तथा मर्जर प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकास बैंकका संचालक तथा मर्जर प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गर्नुभएको थियो । दुवै बैंकले आ-आफ्नो विशेष÷वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।
२०७६ पुस २७ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ हुनेछ । संझौता अनुसार सहयोगी विकास बैंकका शेयरधनीहरूले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९१.७५ कित्ता शेयर पाउने छन् ।
हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्तिसंगै २३ वटा शाखाहरू सञ्चालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको बैंकले जानकारी दिएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।