ई–आर्थिक, मंसिर २०, काठमाडौँ । ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । शुक्रबार ग्लोबल आइएमई बैंकले जनता बैकलाई गाभेर एकीकृत कारोबार शुरु गरे सँगै देशकै ठूलो बैंक बनेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार विशेष कार्यक्रमका बीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । यी दुई बैंक मर्जसँगै नेपालको बैंकिङ्ग इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ ।
यी दुई बैंकको एकिकृत कारोबारसँगै ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बनेको छ । मर्जरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुगेको छ । दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

बैंकले एकिकरणलाई ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ अभियानका साथ अगाडी बढाईरहेको छ । एकीकृत बैंकको नाम ग्लोबल आईएमई नै रहेको छ भने चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहनेछन्। सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट पाँच र जनताबाट दुई जना रहनेछन्।
हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले १२.७५ प्रतिशत बोनस शेयर दिँदैछ, जसपश्चात् चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख छ हजार ७९० रुपैयाँ पुग्ने छ । त्यस्तै जनता बैंकको चुक्ता पुँजी ८ अर्ब सात लाख ८५ हजार आठ सय रुपैयाँ चुक्तापुँजी रहेको ।जनता बैंकले ६ प्रतिशत प्रतिशत बोनस शेयर दिएर ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउँदैछ ।
दुबै बैंकले गत आवको मुनाफाबाट पारित गरेका बोनस पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब कायम हुनेछ । मंसिर २ गते सम्पन्न ग्लोबलले साधारण सभाले गत आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट १२.७५ प्रतिशत र जनताले ६ प्रतिशत बोनस पारित गरिसकेका छन् ।
यस्तै बैंकको निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब, ८४० सेवा केन्द्र ९३०० शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर सहित० ३ हजार २०० कर्मचारीबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ । ग्लोबल आईएमई बैंक जनता सहित कूल १९ संस्थाको सम्मिलित संस्था भएको छ।
ग्लोबलले मुनाफा बाहेक पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायत सबै सूचकमा सबै वाणिज्य बैंकहरुलाई पछाडि पारेको छ। मुनाफाका आधारमा भने बैंक राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकभन्दा पछाडि छ। प्रथम त्रैमासमा ग्लोबलको ७५ करोड ३१ लाख र जनताको ३६ करोड ६९ लाख गरि कूल एक खर्ब १२ अर्ब मुनाफा रहेको छ।

मर्जरसँगै बैंकको शाखा संख्या ३ सय नाघ्ने छ भने शाखारहित २४५ र एक्सटेन्सन काउन्टरको संख्या ३३ पुग्ने छ । त्यस्तै एटीएमको संख्या २६० पुग्ने भएको छ । त्यसैगरी कर्मचारीको संख्या ३ हजार २ सय भन्दा बढी पुग्नेछ ।
एकिकृति कारोबार कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीबी नेपाल, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका कार्यबहाक अध्यक्ष विष्णुकुमार अग्रवाल, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथिहरुलाई स्वागत जनता बैंकका अध्यक्ष केशबबहादुर रायमाझीले गरेका थिए भने धन्यवाद ज्ञापन ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललले गरेका थिए ।