ग्लोबल आईएमई बैंक र जनता बैंक एक आपसमा मर्जसँगै आज २० गतेदेखि एकिकृत कारोबार
ई–आर्थिक, काठमाडौं । ग्लोबल आईएमई र जनता बैंकको आज २० गतेदेखि एकिकृत कारोबार हुने भएको छ । दुबै बैंक एक आपसमा गाभिई एकिकृत कारोबार गर्न लागेका हुन । दुबै बैंक एकआपसमा गाभिई ग्लोबल आईएमई बैंकको नामबाट कारोबार हुने भएको छ । एकिकृत कारोबारको शुभाराम्भ अर्थमन्त्री डा. युबराज खतिवडाले गर्ने कार्यक्रम रहेको ग्लोबल आईएमई बैंकले जानकारी दिएको छ ।
बैंकले एकिकरणलाई ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ अभियानका साथ अगाडी बढाईरहेको छ ।
यी दुबै बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अन्तिम स्वीकृति दिएको थियो । यो स्वीकृतीसँगै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले २० गतेभित्रै एकिकृत कारोबार सुरू गर्ने बताएका थिए ।

दुबै बैंक मर्ज गर्ने संझौतामा सहभागी बैंक सञ्चालक समिति र उच्च अहोदाका कर्मचारीहरु ।
यि दुई बैंकको एकिकृत कारोबारसँगै ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्दैछ । मर्जरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ ।
हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले १२.७५ प्रतिशत बोनस शेयर दिँदैछ, जसपश्चात् चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख छ हजार ७९० रुपैयाँ पुग्ने छ । त्यस्तै जनता बैंकको चुक्ता पुँजी ८ अर्ब सात लाख ८५ हजार आठ सय रुपैयाँ चुक्तापुँजी रहेको ।
जनता बैंकले ६ प्रतिशत प्रतिशत बोनस शेयर दिएर ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउँदैछ ।
मर्जरसँगै बैंकको शाखा संख्या ३ सय नाघ्ने छ भने शाखारहित २४५ र एक्सटेन्सन काउन्टरको संख्या ३३ पुग्ने छ । त्यस्तै एटीएमको संख्या २६० पुग्ने भएको छ । त्यसैगरी कर्मचारीको संख्या ३ हजार २ सय भन्दा बढी पुग्नेछ ।