काठमाडौं : कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा बैंकका लहान शाखाका कर्जा प्रमुख सुनिलकुमार शाह पक्राउ परेका छन् ।
बैंकको सिष्टम ह्याक गरी करोडौं रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका लागि उनलाई लहानबाट पक्राउ काठमाडौं ल्याएको प्रहरीले जानकारी दिएको छ ।
झाको कम्प्युटरबाट लुटिएको रकमको कारोबार भएको देखिएपछि महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो ।
लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए । यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी स्याङ्जाका रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भुसाल प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन् । उनीहरुसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यही विषयमा अनुसन्धानको क्रममा प्रहरीले थप व्यक्ति प्रकाउ पर्नसक्ने जानकारी दिइएको छ । यसअघि पक्राउ परेका १२ जनालाई अपराध महाशाखाको टोलीले सार्वजानिक गरिसकेको छ । सो बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गर्न सफल भएका थिए ।
घटनाका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने अहिले फरार छन् । उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जानकारी दिएको छ ।