२०८३ साउन १२ मंगलबार

काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने देउवाको प्रयास

ई आर्थिक    सोमबार, चैत्र २५ २०७५
2.6K
Shares
काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने देउवाको प्रयास

ई–आर्थिक, काठमाडौँ, चैत २५ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।

विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी गराए।

त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो । काङ्ग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij