२०८३ साउन ९ शनिबार

लगानी सम्मेलन आजबाट, निजी क्षेत्रको २७ आयोजनामा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म  

ई आर्थिक    शुक्रबार, चैत्र १५ २०७५
4.5K
Shares
लगानी सम्मेलन आजबाट, निजी क्षेत्रको २७ आयोजनामा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म  

मधुजंग पाण्डे, काठमाडौँ ।  मुलुकमा बाह्य लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज) देखि सुरु हुँदै छ । काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा सुरु हुने सो सम्मेलनमा सहभागी हुन विदेशी लगानीकर्ताहरू काठमाडौं आइपुगेका छन् । यस सम्मेलनमा विभिन्न ४० देशका करिब साढे ६ सय बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनका लागि निजी क्षेत्रले २७ वटा आयोजनाको प्रस्ताव तयार पारेको छ । निजी क्षेत्रले अध्ययन गरी तयार पारेका परियोजनाको सूचीमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म छन् । जसमा विशाल सिमेन्ट, गरुड सिमेन्ट, आईएमई सिमेन्ट जस्ता उत्पादनमूलक उद्योग परियोजना छन् । यसैगरी, जलविद्युत् क्षेत्रमा त्रिशूली–गल्छी हाइड्रोपावर, इङवा हाइड्रोपावर, कालीगण्डकी गर्ज, तल्लो वरुणखोला, मध्ये कालीगण्डकी, म्यादीखोला हाइड्रोपावर, नाम्लान खोला हाइड्रोपावर, माथिल्लो चमेलिया जलविद्युत् परियोजना, माथिल्लो बलेफी जलविद्युत् परियोजना, माथिल्लो बलेफी ए जलविद्युत् परियोजना र तारप खोला जलविद्युत् परियोजनालगायत छन् । त्यसैगरी, पूर्वाधार क्षेत्रतर्फ जालपादेवी केबुलकार तथा पर्यटन परियोजना, अन्नपूर्ण सिक्लेस केबुलकार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केबुलकार तथा पर्यटन परियोजना, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबुलकार रहेका छन् ।

नयाँ थप गरिएका सेवामूलक रिसोर्ट तथा होटलमा हिमालयन रिसोर्ट, हायात प्लेस काठमाडौं जस्ता परियोजना पनि निजी क्षेत्रको सूचीमा समावेश भएका छन् । अब यी परियोजनालाई ‘सोकेस’ का रूपमा प्रस्तुत गरिने लगानी बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यस सम्मेलनमा सरकारी र निजी क्षेत्रबाट गरी कुल ७७ वटा परियोजना प्रस्ताव तयार भएको छ । लगानी सम्मेलनका लागि तयार पारिएका यी ७७ वटै परियोजनाका लागि करिब ३५ खर्ब बढीको लागत अनुमान गरिएको छ । सो सम्मेलनका लागि सरकारका तर्फबाट ५० वटा र निजी क्षेत्रका तर्फबाट २७ गरी कुल ७७ वटा परियोजना प्रस्तावमा छलफल हुनेछ भने १२ वटा परियोजनामा सम्मेलनकै बेला सम्झौता हुने बोर्डले जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अहिलेसम्म विभिन्न मुलुकबाट आएका लगानीकर्तालाई राजधानीका विभिन्न होटलमा बास बस्ने व्यवस्था मिलाइएको बताए । उनले शुक्रबार बिहान सोल्टी होटलमा प्रधानमन्त्रीले सम्मेलन उद्घाटन गरेपछि परियोजना प्रस्ताव पेस भई स्वदेशी एवं विदेशी लगानीकर्ताबीच छलफल हुने जानकारी दिए । कुल ७७ वटै परियोजनाको विस्तृत अध्ययन गरेर प्रस्ताव तयार गरिएको जानकारी दिँदै उनले यस सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा गरी कुल ७७ वटा प्रस्ताव पेस हुने बताए ।
बोर्डका अनुसार सरकारको प्राथमिकता यातायात, पर्यटन, ऊर्जा र पूर्वाधार रहेको छ भने निजी क्षेत्रको प्राथमिकता ऊर्जा, केबुलकार र उत्पादनमूलक उद्योगमा बढी देखिएको छ ।

यी हुन् उद्योगी प्रस्तुतिकर्ता

लगानी सम्मेलनमा प्रस्तुतिका लागि सरकारले स्वदेशी उद्योगीहरूलाई पनि अवसर दिएको छ । नेपालमा लगानीको अवसरका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले प्रस्तुति दिनेछन् । उद्योगतर्फ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष डा. उपेन्द्र महतोले छुट्टाछुट्टै प्रस्तुति दिने कार्यक्रम छ । यसैगरी, ऊर्जातर्फ इप्पानका अध्यक्ष एवं ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानको प्रस्तुति रहनेछ । त्यसैगरी, विश्वका अर्बपति सूचीमा छनोट भएका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र एनआरएन अध्यक्ष भवन भट्टले समेत आफ्नो अनुभव प्रस्तुत गर्ने कार्यक्रम छ ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij