लम्बोदर घिमिरे
अध्यक्ष
हार्डफोर्ड बचत तथा ऋण सहकारी संस्था लि.
समुदाय र संस्थाका सेयर सदस्यको आर्थिक सामाजिकस्तरमा आमूल परिवर्तन ल्याउदै मुलुकको आर्थिक बृद्धिमा समेत योगदान पु¥याउने उद्देश्यका साथ स्थापना भएको हार्डफोर्ड बचत तथा ऋण सहकारी संस्था स्थापनाकालको ९ बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरको छ । संस्थाले आफ्नो उद्देश्यलाई क्रमशः पुरा गर्दै लगेको छ । १० औं बर्षमा प्रवेशसँगै संस्थाले गरेको प्रगति र भावि योजनाको वारेमा कुराकानीका क्रममा संस्थाका अध्यक्ष लम्बोदर घिमिरेले सहकारीले सदस्य र समूदायका साथै मुलुकको आर्थिक समृद्धिमा उल्लेख्य योगदान पु¥याउने बताउनु भयो । कुराकानीको क्रममा अध्यक्ष घिमिरेले हार्डफोर्ड सुख दुःखको साथी भएको बताउनुभयो :
हार्डफोर्ड बचत तथा ऋण सहकारी संस्थाले हालसम्म के कस्ता प्रगती गर्न सफल भएको छ ?
हार्डफोर्ड बचत तथा ऋण सहकारी संस्था स्थापनाको ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । यो संस्था डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०६६ मंसिर २४ गते संस्थागत रुपमा दर्ता भई २०६८ श्रावण २० को साधारण सभाले कार्यक्षेत्र परिवर्तन गर्ने निर्णय गरी भौगोलिकताका आधारमा कार्यक्षेत्र कायम गरी कारोवार संचालन गर्दै आएको छ । यी ९ वर्षको अविधिमा हामँीले विभिन्न सफलताहरु प्राप्त गरेका छौँ । हाम्रो प्रमुख सफलता भनेकै सदस्यहरुको अपार माया र विश्वास हो । यस बीचमा उन्लेखनीय रुपमा सदस्यता, शेयर पुँजी निक्षेप संकलन, ऋण कारोवार वृद्घि लगायत संस्थाको दिगो विकासका लागि जगेडा कोष, ऋण जोखिम व्यवस्था र घर जग्गा कोषको व्यवस्थापन गदैै अगाडि बढ्दै गरेको अवस्था छ । यस बीचमा गरेको समग्र प्रगति प्रति हामी सन्तुष्ट छौं ।
संस्थाले यस बर्ष गर्ने साधारणसभा र त्यसको तयारी बारेमा बताई दिनुहोस न ?
यो संस्था अन्य सहकारी संस्था भन्दा केही भिन्न किसिमले संस्थागत निर्णय गर्छ । संस्थाले साधारण सभाबाटै वार्षिक साधारण सभाको मिति तय गरेर साधारण सभा आयोजना गर्ने गरेको छ । विगत ५ वर्ष देखि हामीले श्रावण महिनाको अन्तिम शनिवार साधारण सभा गर्दे आएका छौं । यस वर्ष पनि श्रावण महिनाको अन्तिम शनिवार २६ गते दिनको १ बजेबाट ए वान पार्टि प्यालेस चावहिलमा सम्पन्न गदै छौँ । शुरुका तीन वटा साधारण सभा हामीले श्रावण महिनाको २० गते सम्पन्न गरेका थियौँ । सदस्यहरुलाई उपस्थितीको लागी सहजता होस भन्ने उद्देश्यल सधैे श्रावण महिनाको अन्तिम शनिवारलाई साधारण सभाको दिन तोकेका हौं ।

संस्थाको स्थापनाको उदेश्य के कस्ता थिए ? ती उद्देश्य पूर्तिमा सस्थालाई कत्तिको सफलता मिलिरहेको छ ?
हाम्रो समुदायमा रहनु भएका महानुभावहरुलाई सहकारी शिक्षा मार्फत सहकारीमा आवद्घ गरेर उहाँहरुको आर्थिक, सामाजिक, साँस्कृतिक स्तर उकास्ने बचत तथा ऋणको माध्यमबाट गर्ने उद्देश्य लिएर यो संस्था स्थापना गरिएको हो । हाम्रा यी उद्देश्यहरु प्राप्तिमा हामीलाई सन्तोषप्रद सफलता मिल्दै गइरहेको छ ।
सस्थामा शेयर धनीको संख्या र शेयर पुजि कती रहेको छ ? कति सम्म पु¥याउने संस्थाको लक्ष्य रहेको छ ?
आर्थिक वर्षको अन्तसम्ममा संस्थामा ८०३ जना सदस्यहरु हुनुहुन्छ । यस बीचमा केही सदस्यहरु पनि थप हुनु भएको छ । त्यस्तै संस्थाको सेयर पुँजी २०७५ आसाढमा रु १,४१,९९,१००/- पुगेको छ । यो आर्थिक वर्षमा हामीले करिव २५ लाखले सेयर वृदि गर्ने लक्ष्य राखेका छौं ।
सस्थाको सेवा कस्ता र कुन बर्गलाई लक्षित रहेको छ ?
कार्यक्षेत्र भित्र रहनु भएका समुदायका सदस्यहरुलाई संस्थाले सदस्य बन्न पे्ररित गर्ने, बचतको वानी बसाल्ने, ऋण लगानी गर्ने गरिएको छ । त्यस्तै रेमिट सेवा, सदस्य शिक्षा, बिजुली र टेलिफोन विल भुक्तानी, मोवाइल रिचार्ज आदि सेवा पनि उपलब्ध गराएका छौं ।
सस्थाको बचत निक्षप र कर्जा लगानीको अवस्था कस्तो रहेको छ ? निक्षेप संकलन र कर्जा लगानीमा के कस्ता समस्या रहेका छन ?
हामीले सदस्यहरुलाई थोरै–थोरै भएपनि नियमित मासिक बचत गर्नु पर्छ भनी यसलाई प्राथमिकता दिएका छौं । यो बचत सदस्यले सदस्यता त्याग गरेको अवस्थामा मात्र फिर्ता हुन्छ । तर यस बचतको जमानीमा सहुलियत ब्याजदरमा (बचतमा दिने भन्दा २ प्रतिशत) थप ब्याज लिएर बचतको ९० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ । नियमित बचत लगायत साधारण कारोवार बचत, दैनिक बचत, खुत्रुके बचत तथा आबधिक बचतका प्रकारहरु पनि छन । बाल सदस्यहरुलाई २÷२ बर्षमा वाल मनोरन्जनात्मक कार्यक्रममा सहभागी गराउने गरिएको हुँदा खुत्रुके वाल बचत पनि प्रभावकारी देखिएको छ । ऋण लगानीलाई मासिक किस्तामा लगाउन प्रयास गरिएता पनी पूर्ण रुपमा प्रभावकारी भएको छैन जसले गर्दा केही ऋणहरु समयमा असुली गर्न नसकिने समस्या बेलाबेला आई रहन्छन ।
कर्जा लगानी के कस्ता क्षेत्रमा गर्नु भएको छ ? कर्जा असुलीको अवस्था कस्तो रहेको छ ?
ब्यापार, ब्यवसाय, घर जग्गा, शैक्षिक, घरायसी आदीमा संस्थाले लगानी गर्ने गरेको छ । घर जग्गामा लगानी भएको ऋण किस्तामा असुल हुन गाह्रो हुन्छ ।
सदस्यहरुलाई आकर्षित गर्ने सस्थाका सेवा तथा विशेषताहरु के कस्ता रहेका छन् ? आफ्नो कार्यक्षेत्रमा हार्डफोर्ड साकोसको पहिचान कस्तो रहेको छ ?
असल ऋणी, नियमित कारोवार गर्ने सदस्य, वाल बचत सदस्यहरु, पहिचान गरी साधारणसभामा पुरष्कृत गर्ने गरेका छौं । एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक ल्याउने बचत सदस्यका छोराछोरीहरु छनौट गरी साधारण सभामा बिद्यार्थी पुरस्कार अन्तर्गत पुरष्कृत गर्दछौ ।
संस्थाले सहकारी अभियान र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत के कस्ता गतिविधि गर्ने गरेको छ ?
संस्थाले सहकारी अभियान अन्तर्गत राष्ट्रिय अन्तराष्ट्रिय सहकारी कार्यक्रमहरुमा भाग लिने, अभियानको कार्यक्रममा सहभागीता जनाउने, आपतकालिन वाढी पहिरो दैवी प्रकोपमा संस्थागत आर्थिक सहयोग गर्ने र आफ्ना सदस्यहरुको मृत्यू पश्चात परिवारमा समवेदना सहित ५०००/- तत्कालै सहयोग उपलब्ध गराउने गरेका छौ । संस्थाले गर्ने गतिविधिहरुका कारण आफ्नो कार्य क्षेत्रमा संस्थाको पहिचान सकारात्मक भएको महशुस गरेका छौं ।
कुनै सस्थासँग मर्ज गर्ने अथवा सदस्य सेवा केन्द्र विस्तार गर्ने सम्बन्धमा संस्थाले कुनै सोचाई राखेको छ ?
आवश्यकता र औचित्यका आधारमा हामी मर्जमा जान पनि सकिन्छ । हामीमा मर्जर गर्न पनि सकिन्छ । हाललाई सदस्य सेवा केन्द्रको विस्तारको आवश्यकता महसुुुस भएको छैन । संस्थाको हालको कार्यालयबाटै सेवाहरु सहजरुमा उपलब्ध गराइरहेकै छौं ।
संस्थाको कार्यक्षेत्र आसपासमा सहकारी–सहकारी बीच कत्तिको प्रतिस्पर्धा रहेको छ ?
संस्थाको कार्यक्षेत्रमा सहकारीको संख्या बाक्लै रहेको छ । यस्तो अवस्थामा पनि संस्थाले प्रतिस्पर्धाको कुनै अनुभव गर्नु परेको छैन । त्यसको मूख्य कारण भनेको सदस्यको सन्तुष्टि हो ।
२०७५ भरमा गर्ने संस्थाका योजना तथा कार्यक्रम के कस्ता रहेका छन् ?
सस्थाको शेयर, निक्षेप, सदस्य संख्या बृद्धि गर्ने, सदस्यहरुलाई सहकारी शिक्षा दिने जस्ता नियमित कार्यहरुलाई २०७५ का योजना तथा कार्यक्रमहरु रहेका छन् ।
सहकारी संस्थाको अनुगमन नियमन लगायतका सेवा स्थानिय निकायद्वारा हुन थालेको छ । यो वारेमा तपाईको धारणा के छ ?
यो विषयमा मूर्तरुपमा कसरी अनुगमन नियमन गर्ने भन्ने कुरा आइसकेको छैन । राम्रो समन्वय भयो भने नियमन र अनुमगनको जिम्मा स्थानीय निकायले गर्दा अझ सरल तथा प्रभावकरी हुने हामीले अपेक्षा गरेका छौं ।
१० औं बर्षमा प्रवेशको अवसरमा सदस्यहरुप्रति संस्थाका प्रतिबद्धता के छ ?
सानो–सानो रकम वचत गरी भोलिको सुनौलो भविष्यको कामना गरी यस संस्थाको सदस्य भई विभिन्न कारोवारहरु गर्दै आउनु भएको छ । सदस्यहरुकै विश्वास एवं सहयोगले हार्डफोर्ड आजको यो अवस्थाका आइपुगेको हो । सदस्यहरुको परिवारमा बालबालिका जन्मेर खुशीयाली मनाउँदा देखि अत्यन्त दुखद क्षण मृत्यु हुँदासम्म पनि यो संस्था सदस्यहरुसँगै हुने कार्यक्रम हामीले ल्याएका छौँ । बालबालिकाका लागि वचत गर्ने, उनीहरुको उपलब्धीको सम्मान गर्ने जस्ता कार्यक्रमहरु पनि रहेका छन् । सरल एव सहज रुपमा आफ्नो व्यवसाय बृृद्धि गर्न चाहनु हुने सदस्यहरुलाई विभिन्न शिर्षकमा लागानी गरी आयमुलक कार्यमा लाग्न प्रेरित गरिराखेका छौं । हाम्रो संस्था नाफामूलक व्यवसाय गर्ने संस्था पनि भएकाले जोखिमलाई मध्यनजर गर्दै लागानीका स्रोत र क्षेत्रहरु पहिचान गरी अगाडि बढ्दै जानेछौं । यहाँहरुले गर्नु भएको बचतको समुचित उपयोग गरी सदस्यहरुको आयस्तर उकास्न लागि परेको छौं । हार्डफोर्डबाट उपलब्ध सेवाहरु लिई संस्थाको विकासमा सहयोग गर्नुहोस् हार्डफोर्ड सदैब तपार्इँहरुको साथमा छ । जय सहकारी