२०८३ साउन ९ शनिबार

बिचौलियाको मूल्यमा धान किनबेच, कस्तुरी र बासमती धानमा राम्रो परिणाम

ई आर्थिक    आइतबार, मंसिर १६ २०७५
6.8K
Shares
बिचौलियाको मूल्यमा धान किनबेच, कस्तुरी र बासमती धानमा राम्रो परिणाम
विनोद भण्डारी, मंसिर १६, २०७५, विराटनगर — निश्चित मूल्य नहुँदा धान मिल र बिचौलियाले तोकेको मूल्यमा किसान धान बेच्न बाध्य छन् । माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर बिचौलियाले हरेक दिन मूल्य निर्धारण गरी मिलसम्म पुर्‍याउछ ।

त्यो मूल्यमा किसानले धान विक्री गर्दा बिचौलियाको कमिसन, मिल मालिक र साना खरिद केन्द्रको नाफा कटाएर मात्र अन्तिम मूल्य किसानले पाउँछन् ।

उक्त मूल्यमा किसानले धान बिक्री गर्दा बिचौलियाले आफूले तोकेको मूल्यमा मिलसँग कमिसन खान्छ । बाँकी रहेको मूल्यमा मिलले आफ्नो नाफा राखेर साना खरिद केन्द्रलाई मूल्य दिन्छ । त्यो मूल्यमा पनि साना खरिद केन्द्रले आफ्नो नाफा राखेर किसानको धान खरिद गर्छ ।

यस्तोमा किसानको धानमा तीन ठाउँमा कमिसन राखिन्छ । अहिले मोरङका ग्रामीण क्षेत्रमा ‘राधा’ १२’ को प्रतिक्विन्टल २ हजार ४ सय, ‘रन्जित’ २ हजार ७ सय ५०, ‘सोना’ २ हजार ५ सय २५ र ‘कान्छी’ प्रतिक्विन्टल २ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । त्यो मूल्य बिचौलियाको कमिसन, मिल सञ्चालक र साना खरिद केन्द्रको नाफा कटाएर कायम गरिएको मूल्य हो ।

धान मात्र नभई हरेक कृषि उपजको मूल्य बिचौलिया र खरिदकर्ताले तोक्ने परम्परा छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र प्रमुख राजेन्द्र उप्रेतीले भने, ‘खरिद कर्ताले जति मूल्य बताउँछ किसान त्यही मूल्यमा आफ्नो फसल बिक्री गर्न बाध्य छन् ।’

प्रदेश १ मा करिब अढाई लाख हेक्टर क्षेत्रफलमा यसपालि धान खेती भएको छ । यो क्षेत्रमा करिब १० लाख टन धान उत्पादन हुने अनुमान गरिएको छ । उप्रेतीका अनुसार त्यो सबै धान खरिदकर्ताको मूल्यमा बिक्री हुन्छ ।

विराटनगरको अतिथि सदन अगाडि हरेक दिन साँझ बिचौलियाको भेलाले तोक्ने मूल्यकै आधारमा भोलि पल्ट मिलले किसानको धान किन्ने गर्दा किसान मर्कामा पर्दै आएका छन् । बिचौलियाले तोकेको मूल्य लागू नभए मिलले साना व्यापारीबाट धान नै किन्दैनन् ।

अतिथि सदन अगाडि हरेक साँझ प्राय: सबै राइस मिलसँग जोडिएका बिचौलिया भेला भएर आ–आफ्ना मिलले खरिद गर्ने मूल्य सार्वजनिक गर्छन् ।

स्रोतका अनुसार उनीहरूले तोकेको मूल्य नै अन्तिम हुन्छ र त्यही मूल्यलाई स्थानीय सरकारी निकायले पनि समर्थन गर्दै आएका छन् । सरकारले समर्थन मूल्य नतोक्दा किसानले हरेक साल मिलले तोकेको मूल्यमा धान बिक्री गर्नुपरेको उद्योग वाणिज्य महासंघका सदस्य अविनाश बोहोराको भनाइ छ । मिलले स्थानीय माग, आपूर्ति र सीमावर्ती बजारको अवस्था हेरेर मूल्य कायम गर्छ । बोहोराले भने, ‘सरकारले समर्थन मूल्य तोक्ने हो भने त्यही मूल्यको सेरेफेरोमा किसानले उचित मूल्य पाउन सक्छ ।’

गत वर्षको एक दाना पनि धान स्टक छैन । भारतमा पनि धानको मूल्य राम्रो छ । यसकै कारण सरकारले समर्थन मूल्य तोक्न नसकेको उनको बुझाइ छ । भारतीय बजारका आधारमा सरकारले समर्थन मूल्य तोक्नुपर्छ । तोकिएको मूल्यभन्दा माथि मूल्य चल्यो भने किसानले राम्रो मूल्य पाउँछन् ।

आफूले तोकेको मूल्यमा सरकारले धान खरिद गर्न सक्ने स्थिति छैन । उनले भने, ‘सरकारले धान खरिद गरे पनि भण्डारण गर्न सक्ने स्थिति नभएकै कारण समर्थन मूल्य तोक्न ढिलाइ गर्दा किसान मारमा परेका हुन् ।

आफूले २२ बिघा खेतमा उत्पादन गरेको धान बिचौलियाले तोकेको मूल्यमा बिक्री गर्नुपर्‍यो । बेलबारी ९ का किसान खड्गबहादुर पौडेलले भने बिचौलियाको मूल्यमा धान बिक्री गर्दा उत्पादन लागत पनि असुली हुन गाह्रो भयो ।

कस्तुरी र बासमती धानमा राम्रो परिणाम

प्रांगारिक मलले उत्पादन बढ्यो

शंकर आचार्य, मंसिर १६, २०७५, पर्सा — प्रांगारिक मल प्रयोग गर्दा कस्तुरी र बासमती धानको राम्रो उत्पादन भएको छ । यी दुई जातको धानबालीमा गरिएको प्रयोगले यो परिणाम देखाएको हो ।

पर्सा–बारा औद्योगिक करिडोरस्थित त्रिवेणी बायो इनर्जी रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरले उद्योग परिसरमा आफैंले उत्पादन गरेको प्रांगारिक मल प्रयोगबाट यी दुई धानबालीको उत्पादन बढेको देखिएको दाबी गरेको छ । तराईका यी रैथाने जातका धानबालीलाई अत्यधिक सिँचाइ र धेरै मात्रामा रासायनिक मल प्रयोग गर्दा मात्र उत्पादन राम्रो हुने बुझाइ किसानहरूको रहँदै आएको छ ।

सेन्टरका महाप्रबन्धक शिवनाथ शर्माले प्रांगारिक मलले राम्रो परिणाम देखाएकामा आफूहरू उत्साहित भएको बताए ।

‘सिँचाइ र मल दुवै अत्यधिक परिमाणमा चाहिने भएकाले तराईका किसान यी रैथाने धानको खेती कम गर्दै लगेका छन्,’ उनले भने, ‘हाम्रो प्रयोगले रासायनिक मलको साटो प्रांगारिक मल प्रयोगबाट अन्य धानबाली जत्तिकै सिँचाइ भए पनि यी धानको राम्रो उत्पादन हुने पुष्टि गरेको छ ।’ हाल धानको बाला हेर्दा दुवै जातको धान प्रतिकट्ठा ३/३ मन उत्पादन हुने अनुमान उनको छ । अन्य धानबाली पनि सरदर यत्ति नै उत्पादन हुने गरेको छ ।
कस्तुरी जातको धान तराईमा बिस्तारै लोप हुँदै गएको छ । बासमतीभन्दा झन्डै दोब्बर महँगो मूल्य रहेको यो धान स्वादका पारखीहरूले अझै पनि तराईमा खाने चलन छ ।
यस वर्ष सेन्टरले १०/१० कट्ठामा दुइटै धानबाली प्रयोगका रूपमा लगाइएको र आउँदो वर्षदेखि यसलाई विस्तार गर्दै लगिने शर्माले बताए । ‘हाम्रो दाबी किसानले पत्याएनन् वा स्थलगत अनुगमन नै गर्न चाहे पनि उहाँहरूका लागि हामी यो प्रयोगलाई निरन्तरता दिने र बर्सेनि बढाउँदै लग्ने योजनामा छौं,’ उनले भने, ‘धानबाली लगाएदेखि मल छर्ने र बाली भित्र्याउने बेलासम्म सबै कुरो पारदर्शी राखेर हाम्रो प्रयोगको निष्कर्ष सार्वजनिक गर्छौं ।’
धानबालीमा प्रतिकट्ठा २६ किलो प्रांगारिक मल छरेको उनले बताए । प्रांगारिक मलबाहेक अन्य कुनै पनि रसायन र विषादी नछरिएको शर्माको दाबी छ । कम्पनीले उत्पादन गरेको प्रांगारिक मल धानबालीबाहेक गहुँ, उखु, मकै, दलहन, तेलहन, तरकारी आदि बालीमा पनि प्रयोग गरिन्छ ।

वनमारा, वनतुल्सी, असुरो, लट्टे, लानताना, एजोला, जलकुम्भी, भटमास र तोरीको पिनालगायतका वस्तु प्रयोग गरेर उद्योगले ०७२ देखि प्रांगारिक मल उत्पादन गर्दै आएको छ । अन्य बालीमा पनि रासायनिक मल प्रयोग नगरी प्रांगारिक मल प्रयोग गर्दा बालीनालीको उत्पादन उत्साहजनक देखिएको उनले जनाए ।

डुमरबानास्थित जनता मावि प्राविधिक शिक्षालयका कृषि प्रशिक्षक मनीन्द्रनाथ शर्माका अनुसार प्रांगारिक मलमा भएको मित्र जीवले शत्रु जीवलाई नष्ट गर्ने भएकाले माटोको गुणस्तरमा वृद्धि भई उत्पादन बढ्छ । ‘प्रांगारिक मलमा पाइने मित्र जीवले माटोको गुणस्तरसँगै पानी सञ्चय गर्ने क्षमता पनि बढाउने गर्छ,’ उनले भने, ‘यसले रोग नियन्त्रण पनि हुने भएकाले रासायिनक विषादीको प्रयोग गर्नु पर्दैन ।’कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij