मंसिर ९, २०७५, सर्लाही : उखु काटेर अन्य बाली लगाउन ढिलो भएपछि सर्लाहीका किसान गत वर्षको भन्दा आधा मूल्यमा सक्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य छन् ।
चिनी उद्योग सञ्चालनमा ढिलाइ भएकाले पनि उनीहरू सक्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका हुन् ।
खेतमा लगाएको उखु काटेर गहुँ तथा दलहन बाली लगाउने समय भइसकेको छ । गत वर्ष प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ २० पैसा मूल्य निर्धारण भएको उखु सक्खर उद्योगलाई किसानले २ सय ५० रुपैयाँमा बेचिरहेका छन् ।
‘गहुँ तथा दलहन बाली लगाउन ढिलो भएकाले तीनवर्षे उखु काटेर सक्खर बनाउने क्रसरमा बेचिरहेको छु, समयमा खेत खालि भएन भने यो सिजनको लागि खेत बाँझै बस्छ,’ सिर्सियाका किसान सियाराम महतोले भने, ‘किसानको बाध्यताको फाइदा क्रसर उद्योगले उठाइरहेका छन् ।’
यस वर्ष चिनी उद्योग सञ्चालनमा ढिलाइ भएकाले पनि सस्तोमा क्रसर उद्योगलाई उखु बेचेर खेत खाली गरिरहेको किसानले बताएका छन् । क्रसर उद्योगलाई बिक्री गर्दा किसानको लागत पनि नउठ्ने किसान रामहुलास यादवले बताए । यस सिजनका लागि उखुको मूल्य निर्धारण नहुँदा सक्खर बनाउने क्रसर उद्योगले आफूखुसी मूल्य तोक्छन् ।
‘तीनवर्षे उखु काट्ने बेला भइसक्यो, चिनी उद्योग खुलेको छैन, मूल्य पनि तय भएको छैन, क्रसर उद्योगले आफूखुसी मूल्य तोक्छन्,’ उनले भने, ‘अर्को बाली लगाउनका लागि बाध्य भएर क्रसर उद्योगलाई उखु बिक्री गरिरहेको छु, यो मूल्यमा लागत पनि उठेको छैन ।’
कतिपय किसानले चिनी उद्योगलाई उखु बेचेपछि मूल्यको लागि आन्दोलन गर्नुपर्ने, निर्धारित मूल्य पनि उद्योगले समयमै नदिने जस्ता कारणले सस्तोमा भए पनि सक्खर उद्योगलाई नगदमा बिक्री गरिरहेका छन् ।
उद्योग सञ्चालन हुन ढिला भएपछि घरखर्च चलाउन सस्तोमा क्रसर उद्योगमा उखु बेच्न थालेको लघुवाका किसान उमेश साहले बताए । ‘चिनी उद्योगलाई उखु बिक्री गर्दा समयमा पैसा पाइँदैन, घरखर्च चलाउन गाह्रो हुन्छ,’ उनले भने, ‘घरखर्च चलाउनका लागि पनि क्रसर उद्योगलाई उखु बिक्री गर्नुपरिरहेको छ ।’
यस वर्ष सक्खरको मूल्य कम भएको र सरकारले चिनीमा भ्याट छुट दिएजस्तै सक्खरमा छुट नदिएका कारण सस्तोमा उखु खरिद गरिरहेको सक्खर उद्योगीको भनाइ छ । २४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुने सर्लाही उखु उत्पादनका हिसाबले देशकै अग्रणी जिल्ला मानिन्छ ।
कान्तिपुरबाट