२०८३ भाद्र ३१ बुधबार

गाईगोरु जन्म दर्ता गर्न एप्स

ई आर्थिक    शुक्रबार, मंसिर ७ २०७५
2.8K
Shares
गाईगोरु जन्म दर्ता गर्न एप्स
अमृता अनमोल, बुटवल — गाईगोरु पाल्नुहुन्छ भने अब दर्ता गर्नुपर्छ । उनीहरूको जन्म–मृत्युसहित जीवनका घटना नगरपालिकामा टिपाउनुपर्छ । किनबेच गरेको समेत जानकारी दिनुपर्नेछ ।

तिनको घटना दर्ताका लागि तिलोत्तमा नगरपालिकाले ‘एप्स’ डिजाइन गर्दै छ । त्यसमा किसानको नाम र पालेका गाईको विवरण लेखिनेछ ।

गाई ब्यायो, किनबेच गर्‍यो वा मर्‍यो भने वडा कार्यालयमा गएर सूचना दिने व्यवस्था हुनेछ । दर्ता गरेकै दिन प्रोत्साहन रकम दिइनेछ ।साताभित्र घटना दर्ता गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहनस्वरूप प्रतिपशु ३ सय रुपैयाँ दिने भएको छ ।
समयमा दर्ता नगर्नेलाई जरिवाना लाग्छ । ‘त्यो जरिवाना नभई सुविधा खोस्ने हो,’ मेयर वासुदेव घिमिरेले भने, ‘गाईको जन्मदर्ता, बसाइँसराइ र मृत्यु दर्ता नगर्ने किसानको बिमा, घाँस, उपचारलगायत सुविधा काटिनेछन् ।’
नगरपालिकाले पशु बिमा गर्दा ५० प्रतिशत रकम सुविधा पनि दिने भएको छ । थारा गाई तथा बाछा सडकमा छाड्ने प्रवृत्ति बढेपछि नगरपालिकाले घटना दर्ता अभियान चलाएको हो । ‘यसबाट नगरका गाईगोरुको यकिन तथ्यांक निस्किनेछ,’ उनले भने, ‘सडकमा कसले छाड्यो भनेर पत्ता लगाउन र कारबाही गर्न सहज हुनेछ ।’
छाडा चौपायाबाट हुने सडक दुर्घटना तथा बालीनाली क्षति रोक्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७४’ जारी गरेर गत वर्षदेखि कार्यान्वयन गरिरहेको छ । त्यसमा गाईगोरु, बाछाबाछी बेवारिस छाडिए ३ हजार, राँगाभैंसी, पाडापाडीको ७ सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको ५ सय रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।
कसले छाडेको हो भन्ने सूचना दिने व्यक्ति र संघसंस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कारस्वरूप उपलब्ध गराउने व्यवस्था छ । ‘दुर्घटना बढाउने, बालीनाली खाने र संरक्षित नोक्सानी भएकाले नियन्त्रण अभियान थालिएको हो,’ नगर प्रमुख घिमिरेले भने, ‘घटना दर्ताले कार्यान्वयनमा थप सहयोग पुग्नेछ ।’
गाईको दर्ता पुसदेखि सुरु गरिनेछ । त्यसका लागि नगरपालिकाका प्रतिनिधिले १७ वटै वडाका गोठ पुगेर तथ्यांक संकलन गर्न थालेका छन् । त्यसमा पशुकर्मी, वडा प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधि सहभागी छन् ।
‘मंसिर अन्तिमसम्म तथ्यांक संकलन सकिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने, ‘पुस पहिलो साताबाट कार्यान्वयनमा जानेछ ।’

‘बिमा रकमका लागि भने बिमा कम्पनीमा बुझाएको अर्धकट्टी ल्याएको दिन ५० प्रतिशत दिइनेछ,’ प्रमुख प्रशासकीय अधिकृतसापकोटाले भने ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij