२०८३ भाद्र ३१ बुधबार

भान्सासम्मै सिन्डिकेट, बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्

ई आर्थिक    सोमबार, भाद्र ४ २०७५
7.6K
Shares
भान्सासम्मै सिन्डिकेट, बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्
राजु चौधरी, भाद्र ४, २०७५, काठमाडौँ— तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन् । उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिब ५ तहमा मूल्य थपिने भएकाले उपभोक्ता चर्को मारमा परेका हुन् ।

तरकारी बजारको सिन्डिकेट खेतबारीबाटै सुरु हुन्छ । ‘तरकारी खेतीका लागि व्यापारीले मल/बीउ दिन्छन्,’ घाटबेसी धादिङका कृषक भीमसेन पण्डित भन्छन्, ‘जसको मल/बीउ लियो, तरकारी पनि उसैलाई दिनुपर्छ ।’ मूल्य निर्धारणमा पनि तिनै व्यापारी हाबी हुन्छन् । कतिपय व्यवसायीले मल/बीउको मूल्य तरकारी बिक्री गरेर कटाउने गरेको पण्डित बताउँछन् ।राजधानीको तरकारी बजारमा ब्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मानिसको भान्साको खर्चलाई ह्वात्तै बढाइदिने गरेको छ । उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ । उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । यी सबै चरणमा मूल्य बढे पनि मध्यस्थकर्तापछि बढ्ने मूल्य किसानले पाउँदैनन् । व्यापारीले करिब १८/२० रुपैयाँमा खरिद गरेको काउलीको थोक मूल्य कालिमाटी तरकारी बजारले आइतबार ९८ रुपैयाँ निर्धारण गरेको थियो । कालिमाटीकै खुद्रा बजारमा यसको मूल्य १ सय १५ रुपैयाँ तोकिएको थियो । बजारमा भने किलोकै १ सय ३० रुपैयाँभन्दा बढी पर्छ ।

तरकारीको दैनिक खुद्रा मूल्य किसानलाई जानकारी हुँदैन । कालिमाटी तरकारी बजारका व्यवसायीले आफूअनुकूल मूल्य निर्धारण गर्ने गरेको किसान बताउँछन् । ‘कालिमाटीमा यतिउति मूल्य चलेको छ भन्छन् तर हामीलाई कहिल्यै भनेअनुसार भाउ दिँदैनन्,’ पालुङ मकवानपुरका कृषक अर्जुन थोकर तामाङले भने, ‘बिचौलियासँग मिलेर मूल्य तोक्ने देखिन्छ ।’

तरकारी संकलन केन्द्रबाट कालिमाटी बजार आएपछि ठूला थोक व्यापारीले साना थोक बिक्रेतालाई तरकारी बिक्री गर्छन् । साना थोक बिक्रेताबाट खुद्रा व्यवसायीले खरिद गर्छन् । यी सबै तहमा नाफा जोडिने हुँदा बजार मूल्य बढेको जानकारहरू बताउँछन् । व्यवसायीले धादिङ, मकवानपुर, काभ्रे, दोलखालगायत जिल्लाबाट तरकारी कालिमाटी फलफूल तथा तरकारी विकास समितिमा भित्र्याउँछन् ।

व्यवसायीसँगको मिलेमतोमा समितिले मूल्य निर्धारण गर्छ । धादिङ/मकवानपुरमा २२ रुपैयाँ पर्ने भन्टा र १५ रुपैयाँ किलोको भिन्डीलाई राजधानीमा प्रतिकिलो ८० रुपैयाँभन्दा बढी पर्छ । ८ रुपैयाँ पर्ने काँक्रो ८० रुपैयाँमा बिक्री भइरहेको छ । किसानबाट प्रतिकिलो १० रुपैयाँमा खरिद गरेको फर्सी ८० देखि ९० रुपैयाँमा किन्न उपत्यकावासी बाध्य छन् ।

किसानबाट किनेका तरकारीमा करिब २० रुपैयाँ मूल्य थपेर राजधानी पठाउने गरेको व्यापारी बताउँछन् । मकवानपुरको गमाल ट्रेडिङका विराजन बस्नेतले किसानबाट खरिद गरेको तरकारी किलोमा करिब २० रुपैयाँ जोडर काठमाडौं पठाएको बताए । उनले किसानबाट घिरौंला १८ रुपैयाँमा खरिद गरेको जनाए । उपत्यकाको खुद्रा तरकारी बजारमा यही घिरौंला प्रतिकिलो ९० रुपैयाँमा बिक्री हुन्छ ।

‘आफूले उत्पादन गरेको तरकारी आफूखुसी बेच्न पाएका छैनौं, तरकारीको मूल्यमा एकरूपता छैन,’ थोकरले गुनासो गरे, ‘बोल्न सक्ने किसानले मात्रै बढी मूल्य पाएका छन् ।’ कृषकदेखि थोक बजारमा आइपुग्दा ३ तह पार गनुपर्ने पालुङ थाहा नगरपालिका–४ का वडाध्यक्ष दीपक लामा बताउँछन् । विभिन्न तहमा मूल्य तोकिँदा बजार भाउ अस्वाभाविक बढेको उनले बताए । ‘बिचौलिया बढी छन् । एउटै गाउँमा सयभन्दा बढी व्यापारी छन्,’ उनले भने, ‘बिचौलियाले सीमित खाए हुने हो तर अत्यधिक मुनाफा राख्छन् । बिलको रेकर्ड पनि हुँदैन ।’ तामाङका अनुसार किसान पनि बजार मूल्य सोध्दैनन् । व्यापारीले बजारमा चलेको मूल्य भनेर आफैं लिने गरेका छन् । मूल्य सोध्दा केही व्यापारीले तरकारी नै नकिन्ने गरेको किसानको गुनासो छ ।

‘व्यापारी आफैं खेतबारीमा गएर तरकारी उठाउँछन् । मूल्य सोधे तरकारी किन्दैनन्,’ पालुङकै कृषक उत्तरबहादुर गोपालीले भने, ‘व्यापारीलाई विश्वास गरेर पठाएका छौं ।’ किसानले तरकारी सिधै बजारसम्म पुर्‍याउने संयन्त्र नहुँदा किसानसँगै उपभोक्तालाई पनि मार परेको उनले बताए । तरकारी लगाउँदा बीउ–मल व्यापारीबाटै लिने भएकाले उत्पादन भइसकेपछि मोलतोल गर्न नसकिने किसान बताउँछन् । ‘उनीहरूले जति भन्यो, त्यतिमै तरकारी छोड्नैपर्छ,’ गोपालीले भने । व्यवसायीले तरकारीको भुक्तानी पनि नदिएको किसानको गुनासो छ । थोकरले भने, ‘एक वर्षमा मेरो मात्रै २३ हजार रुपैयाँ फसेको छ ।’

किसानहरू सरकारले बजारको गतिलो अनुगमन नगर्दा जथाभावी मूल्य बढेको बताउँछन् । बजार हस्तक्षेप तथा मूल्य नियन्त्रण गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विभागका महानिर्देशक योगेन्द्र गौचन बिचौलियालाई कानुनी कठघरामा ल्याइने बताउँछन् । ‘बिचौलिया र सिन्डिकेटबारे सचेत छौं,’ उनले भने, ‘बिचौलियाको सञ्जाल पहिचान गरी तत्काल भत्काउँछौं ।’

मूल्य तोक्न माग
खाद्यवस्तुसरह तरकारी पनि अत्यावश्यक भएकाले सरकारले नै मूल्य निर्धारण गर्नुपर्ने किसानले माग गरेका छन् । मूल्य निर्धारण भएको खण्डमा एकरूपता भई किसान ठगिनबाट बच्ने उनीहरूको भनाइ छ । ‘तरकारीको मूल्यमा एकरूपता नहुँदा बोल्न नसक्ने किसान ठगिएका छन् । किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्,’ धादिङका कृषक शिवराज उप्रेतीले भने, ‘सरकारले तरकारीको पनि मूल्य तोक्नुपर्छ ।’ न्यूनतम मूल्य तोकिए बिचौलिया र सिन्डिकेट पनि अन्त हुने किसानको दाबी छ । सरकारले विभिन्न स्थानमा तरकारी संकलन केन्द्र सञ्चालन गर्न नसक्दा किसान मर्कामा परेका छन् । संकलन केन्द्रमा तरकारी राखेको र तौल गरेको पनि किसानले पैसा तिर्नुपर्छ ।

विषादी र बिल/बिजकको समस्या
किराबाट बचाउन किसानले तरकारीमा दैनिक विषादी प्रयोग गर्दै आएका छन् । धादिङका किसान भीमसेन पण्डितका अनुसार घिरौंला, भिन्डी तथा लौकामा दैनिक विषादी प्रयोग हुन्छ । लत्ताकपडासरह तरकारी क्षेत्रमा पनि बिलबिजकको समस्या देखिएको छ । व्यवसायीले बिल जारी नगर्ने र किसानले बिल नलिने हुँदा कारबाहीमा समस्या हुने विभागका अधिकृत दीपकराज पोखरेलले बताए ।

‘खेती गर्ने वातावरण भएन’

बिजेश श्रेष्ठ, चन्द्रागिरि नगरपालिका १, दहचोक
म वैदेशिक रोजगारी सिलसिलामा २०१२ मा मलेसिया गएँ । दुई/तीन वर्ष दु:ख गरेपछि स्वदेशमै केही गर्नुपर्छ भनेर फर्कें । २०१५ मा ४० लाख लगानीमा दहचोकमा २४ रोपनी जग्गा भाडामा लिएर गोलभेंडा खेती सुरु गरें । गोलभेंडा उत्पादन राम्रो भयो तर भनेजस्तो मूल्य पाइएन । हामीले प्रतिकिलो १५ रुपैयाँमा बिक्री गर्दै आएका छौं । उपभोक्ताको भान्छासम्म आइपुग्दा प्रतिकिलो ५५ देखि ६० रुपैयाँ पर्ने गरेको छ । यो बीचको पैसा सबै बिचौलियाले खाएका छन् ।

४० लाख लगानी गरेकामा अहिलेसम्म १० लाखको मात्रै गोलभेंडा बिक्री भएको छ । पोखरा, वीरगन्ज, हेटौंडा, नारायणघाट, कालीमाटीजस्ता बजारमा गोलभेंडा बिक्री गर्दै आएको छु । ठेकेदारले क्रेटको २ सय रुपैयाँमा खरिद गर्छन्, उपभोक्ताले ८ सय तिर्नुपर्छ । अहिले भारतबाट आयात हुने तरकारी खुलेआम बिक्री भइरहेको छ तर हामीले निर्यात गर्न खोज्दा विभिन्न अवरोध खडा गरेर दिइँदैन ।

राम्रो उत्पादन हुँदा पनि मूल्य नपाएर तीन वर्षसम्म लगानी नै नउठेपछि अहिले गोलभेंडा खेती बन्द गरेको छु । यसको सट्टा अरू नै केही खेती गर्ने योजना बनाउँदै छु । जग्गाको भाडा बर्सेनि बढिरहेको छ । सरकारले कृषिलाई आधुनिकीकरण गर्न सहुलियत दिने भने पनि केही गरेको छैन । खेती गर्ने वातावरण भएजस्तो लागेन । यसले पनि युवा बिदेसिएका छन् ।

कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् ।

सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए। उक्त टाेलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो।
काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टाेलीले नियन्त्रणमा लिएकाे थियाे। त्यसपछि त्यहाँ विवाद बढेको हो।
अनुगमन स्थलमा विवादकाे समाधान नभएपछि वार्ताका लागि ब्यापारीहरुलाई १० बजे अापूर्ति बिभागमा बोलाइएको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भित्र रहेको अगुगमन टोलीलाई छुटाएर व्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अाचार्यका अनुसार सामान्य विषयलाई लिएर अनुमगनमा गएको टोली र व्यापारीबीच केही बेर वादविवाद भएको र अहिले स्थिति सामान्य भइसकेको छ।
आपूर्ति सचिव चन्द्र घिमिरेले सिण्डिकेट र बिचौलिया हाबी हुँदा यस्तो स्थिती आएकाले अनुमगन अगाडि बढाइएको जानकारी दिए।

बिचौलिया कस्ने कानुन बन्दै

मकर श्रेष्ठ, काठमाडौँ — कृषक र उत्पादकबाट कम मूल्यमा खरिद गरी उपभोक्तासँग बढी असुल्ने बिचौलियालाई कानुनी दायरामा ल्याउने कानुनमाथि संसद्मा छलफल सुरु भएको छ ।

विधेयकबारेको छलफलमा बोल्दै बुधबार १९ जना सांसदले उपभोक्ताको पक्षमा कडा कानुन बनाउनुपर्ने माग गरे । कृष्णभक्त पोखरेल, प्रेम सुवाल, पुष्पा भुसाल, भरतकुमार शाह, रामबहादुर विष्ट, पदम गिरी, गणेश पहाडी, रामकुमारी झाँक्री, लक्ष्मी परियार, दुर्गा पौडेल, गगन थापा, डिला संग्रौला, घनश्याम खतिवडा, विन्दा पाण्डे, गजेन्द्रबहादुर महत, मायादेवी न्यौपाने, सूर्यप्रसाद पाठक, रेखा कुमारी, अमृता अग्रहरीले उपभोक्ताको पक्षमा कडा कानुन बनाउन माग गरेका हुन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संसद्मा पेस गरेको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट बुधबार सर्वसम्मतिले स्वीकृत भइसकेको छ ।

संशोधनमा कुनै वस्तुको वास्तविक लागतको आधारभन्दा फरक आधारमा उपभोक्तालाई मार पर्ने गरी मूल्य निर्धारण गर्नेलाई २ देखि ५ वर्षसम्म कैद वा ४ देखि ६ लाखसम्म जरिवाना वा दुवै सजाय गर्न प्रस्ताव गरिएको छ । सांसदहरूले यो सजाय पनि कम भएको भन्दै बढाउन माग गरेका छन् । प्रस्तावित संशोधनमा लागत र तोकिएभन्दा बढी मुनाफा लिई बिक्री गरे २ देखि ३ वर्ष कैद वा ३ देखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

यो विधेयक पारित भएमा तोकिएभन्दा बढी तह कायम गर्न पाइने छैन । कुनै वस्तु प्रदान गर्दा तोकिएको व्यापारिक तहभन्दा बढी तह वा शृंखला खडा गरी बिक्री गरेमा ५ वर्षसम्म कैद वा चार लाखदेखि ६ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखेको छ । अहिलेको तरकारी बजारमा पाँच तहमा मूल्य तोकिने गरिएको छ । यसमा उपभोक्तालाई हानि–नोक्सानी वा क्षति पुग्ने गरी विषादी र कुनै रसायन प्रयोग गर्ने कृषकदेखि बिक्री गर्ने व्यापारीलाई समेत कानुनी कठघरामा ल्याउने व्यवस्था गरिएको छ ।

यो कानुन लागू भएपछि व्यापारी वा व्यापारिक समूह मिली वस्तुको अभाव सिर्जना गरेर मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्न पाउने छैनन् । यस्तो गरे ३ महिनादेखि १ वर्ष कैद वा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij