२०८३ साउन ९ शनिबार

महानगरको बजेट कहाँ कति ?

ई आर्थिक    सोमबार, असार ११ २०७५
3K
Shares
महानगरको बजेट कहाँ कति ?
काठमाडौं महानगर

१३ अर्ब २ करोड
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आइतबार नगर सभामा बजेट पेस गरेकी हुन् ।

महानगरपालिकाले आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार रुपैयाँ हुने जनाएको छ । बाह्य स्रोतबाट ५ अर्ब १९ करोड रुपैयाँ प्राप्त हुनेछ । बाँकी १ अर्ब ४ करोड ११ लाख रुपैयाँ भने अनुदानबापत प्राप्त गरिने बजेटमा उल्लेख छ ।

विनियोजित बजेटमध्ये महानगरले ३ अर्ब ६ करोड २५ लाख रुपैयाँ विकासमा खर्च गर्नेछ । एक अर्ब ९३ करोड रुपैयाँ भने चालूतर्फ खर्च हुनेछ । त्यसबाहेक शिक्षामा १ अर्ब १० करोड ४६ लाख रुपैयाँ, हनुमानढोका स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षणलगायतमा ५१ करोड ६७ लाख रुपैयाँ, भवन निर्माण र गाडी तथा अन्य सम्पत्ति खरिद २ अर्ब ३६ करोड १ लाख रुपैयाँ खर्च हुनेछ । महत्ववाकांक्षी प्राजेक्टका रूपमा हेरिएको मोनोरेल, इलेक्ट्रिक बस, फ्लाइस्काई ब्रिज, ई ट्वाइलेटलगायतको पूर्वसम्भाव्यता अध्ययन तथा डिपिआर निर्माणमा १५ करोड १० लाख रुपैयाँ खर्च गरिनेछ ।

पोखरा महानगर
६ अर्ब ५३ करोड
देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले आगामी आर्थिक वर्ष ०७५/७६ को लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले आइतबार नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका हुन् । चालू आर्थिक वर्ष ०७४/७५ कोभन्दा आगामी वर्षको बजेट २ अर्ब ४९ करोड ८३ लाख बढी हो । चालू वर्षको महानगरको बजेट ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार ८ सय रहेको छ । कुल बजेटमध्ये महानगरको आन्तरिक आय १ अर्ब ६९ करोड ९० लाख ३० हजार र नगद मौज्दात ५० करोडसमेत गरी २ अर्ब १९ करोड ९० लाख रहेको छ । त्यस्तै, बाह्य आम्दानी ४ अर्ब ३३ करोड ७५ लाख रहेको छ ।

बाह्य आम्दानीतर्फ वित्तीय समानीकरण अनुदान ६१ करोड ४४ लाख, ससर्त अनुदान १ अर्ब २० करोड ४२ लाख, समपूरक अनुदान ६ करोड, विशेष अनुदानतर्फ १५ करोड प्राप्त गर्नेछ । त्यस्तै, राजस्व बाँडफाँडबापत ३४ करोड ६५ लाख, सामाजिक सुरक्षा भत्ता अनुदान ५० करोड, साबिकका स्थानीय स्रोत उपयोग बाँडफाँडबाट ८८ करोड प्राप्त गर्नेछ । यसैगरी, सडक बोर्डबाट १ करोड ५० लाखसमेत महानगरलाई आम्दानी हुनेछ ।

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण २ करोड ७४ लाख ३१ हजार ६ सय ९०, राजस्व बाँडफाँडतर्फ ३ करोड २९ लाख ८८ हजार ३ सय ९० रुपैयाँ प्राप्त हुने महानगरले उल्लेख गरेको छ । महानगरले नगर क्षेत्रभित्र सञ्चालन गर्ने विभिन्न योजनाका लागि जनसहभागिताबाट ५० करोड संकलन गर्ने अनुमानसमेत गरेको छ ।

विभिन्न कोषहरू (आकस्मिक, विपद् व्यवस्थापन, कर्मचारी कल्याण, मर्मत सम्भार, समपूरक, वातावरण संरक्षण र क्षतिपूर्ति) का लागि २१ करोड विनियोजन हुनेछ । पूर्वाधारतर्फ २ अर्ब २३ करोड ७९ लाख २२ हजार ४ सय १ विनियोजन भएको छ । वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख ६० हजार ३ सय ५३, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख ६७ हजार ९ सय ८६ विनियोजन भएको छ । आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख ७४ हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख २६ हजार २ सय ५६, पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड विनियोजन भएको छ । राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रुपैयाँ खर्च हुने मेयर जिसीले जानकारी दिए ।

ललितपुर महानगर
४ अर्ब ७० करोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७० करोडको बजेट निर्माण गरेको छ । कार्यकारी अधिकृत हरिप्रसाद दाहालका अनुसार विनियोजित बजेटको २५ प्रतिशत चालू खर्चतर्फ छुट्याइएको छ । बाँकी बजेट विकास खर्चका लागि विनियोजन गरिएको छ । नगर सभामा प्रस्तुत बजेट एक महिनाभित्रै पास गरिने कार्यकारी अधिकृत दाहालले बताए ।

वीरगञ्ज महानगर
४ अर्ब ९४ करोड
प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजारको बजेट सार्वजनिक गरेकोे छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । बजेटमा चालू खर्चतर्फ १ अर्ब ४४ करोड ७९ लाख ९ हजार, पँुजीगत खर्चतर्फ ३ अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थापनतर्फ एक करोड ५८ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले आगामी वर्षका लागि पूर्वधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषिको विकाससँगै व्यापारमैत्री नीति अवलम्बनमा जोड दिएको छ । महानगरभित्र करका नयाँ दर लागू गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले जानकारी दिए ।

महानगरपालिकाले सबैभन्दा भौतिक पूर्वाधार विकासमा कूल बजेटको ७६ प्रतिशत अर्थात् तीन अर्ब ३६ करोड ६० लाख ८५ हजार रकम विनियोजन गरेको छ । त्यसैगरी, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड ९५ लाख ५० हजार, सामाजिक विकासमा ८५ करोड २३ लाख ५५ हजार, कृषि, पर्यटनसमेत आर्थिक विकास क्षेत्रतर्फ दुई करोड २० लाख ६७ हजार , सामाजिक सुरक्षा भत्तातर्फ २० करोड बजेट विनियोजन गरेको छ ।

ससर्त अनुदानतर्फ संघीय सरकारबाट ५५ करोड, प्रदेश सरकारबाट तीन करोड प्राप्त हुने महानगरपालिकाले जनाएको छ । संघीय सरकारका कार्यक्रमसँग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार प्राप्त हुने पनि जनाइएको छ । वैदेशिक स्रोततर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि २ अर्ब ६१ करोड ८२ लाख ९५ हजार प्राप्त हुनेछ । नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड ३५ लाख २७ हजार प्राप्त हुने जनाइएको छ ।

विराटनगर महानगर
४ अर्ब ४७ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार दोस्रो नगर सभामा महानगरपालिका प्रमुख भीम पराजुलीले बजेट प्रस्तुत गरेका हुन् ।

महानगरपालिकाको बजेटमा प्रमुख चालू वर्षका पुराना कार्यक्रमहरूलाई नै निरन्तता दिइएको छ । कुल बजेटमध्ये महानगरपालिकाकै बजेट २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार छ । त्यस्तै, एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित दुई परियोजनातर्फ १ अर्ब ९४ करोड २५ लाख विनियोजन भएको छ । विराटनगर महानगरपालिकाको चालू आर्थिक वर्ष ०७४/७५ को कुल बजेट ३ अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाँ छ ।

महानगरको बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख व्यहोरिने उल्लेख छ । राजस्व बाँडफाँडतर्फ ३७ करोड ५ लाख ४ हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार प्राप्त हुनेछ । संघीय सरकारबाट प्राप्त विषयगत कार्यालयतर्फ खर्च हुने गरी प्राप्त ४४ करोड ९६ लाख तथा संघीय सरकार ससर्त अनुदान ३६ करोड १५ लाख पाप्त हुने पनि महानगरपालिकाले जनाएको छ । विशेष र समपूरक अनुदानतर्फ १० करोड तथा वैदेशिक तथा अन्य संघ संस्था अनुदानतर्फ ४ करोड ४६ लाख ५० हजार पाप्त हुनेछ । जनसहभागिताबाट ३ करोड ५० लाख जुटाइने उल्लेख छ । नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगर मौज्दात ७ करोडसमेत गरी २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय आर्जन हुने अनुमान बजेटको छ ।

प्रस्तुत बजेटअनुसार महानगरपालिकातर्पmको चालू खर्चका लागि कुल बजेटको ७.५३ प्रतिशत अर्थात् ३३ करोड ६८ लाख ५२ हजार विनियोजन गरिएको छ । सामाजिक सुरक्षा र भत्ताका लागि २० करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधारतर्फ ३ अर्ब २५ करोड ३ लाख ३३ हजार छुट्याइएको छ । यसैगरी, वातावरण, सरसफाइ, वित्तीय व्यावस्थापन, सूचना प्रविधि, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ५ करोड ९३ लाख ३० हजार छुट्याइएको छ ।

भरतपुर महानगर
३ अर्ब ३४ करोड
चितवनको भरतपुर महानगरपालिकाले ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रूपैयाँको बजेट तथा अन्य नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको महानगरपालिकाको दोस्रो नगर सभामा मेयर रेणु दाहालले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेट प्रस्तुत गर्ने क्रममा उनले यस वर्ष कार्यान्वयन नभएका योजनाहरूलाई आगामी आर्थिक वर्षमा विशेष प्राथमिकता दिने बताइन् ।

बजेटमा चालू खर्चभन्दा पुँजीगत खर्च ८ करोड कम रहेको छ । चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरको पहिलो नगर सभाले चालू वर्षका लागि ३ अर्ब ५० लाखबराबरको बजेट पारित गरेको थियो । चालू आर्थिक वर्षको भन्दा झन्डै ३३ करोड ५० लाख बढी बजेट यसपटक रहेको छ । आगामी आर्थिक वर्षमा करिब ५५ करोड रुपैयाँ राजस्व तथा आन्तरिक आय प्राप्त हुने नगर सभामा जानकारी दिइयो ।

भरतपुर महानगरलाई संघीय सरकारले अनुदानका रूपमा ७७ करोड (ससर्त), ४६ करोड (समानीकरण) रुपैयाँ बजेट छुट्याएकोे छ । यस्तै, प्रदेश सरकारले १३ करोड (ससर्त), १ करोड ४४ लाख (समानीकरण) रुपैयाँ बजेट छुट्याएको छ ।

स्मार्ट सिटी, मेडिकल सिटी, रिङरोड, नारायणी नदी किनारको चौरमा पर्यटकीय पार्क, क्रिकेट मैदान, सिटी हलजस्ता विषय यसपटकको बजेटमा पनि समेटिएका छन् । रिङरोड र लिंक रोड यही महिनाभित्रै शिलान्यास गरी निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भरतपुरका मुख्य तीन स्थानमा आकाशे पुल निर्माण, मुख्य चोकहरूमा अत्याधुनिक ट्राफिक लाइट जडान, भरतपुर विमानस्थलको स्तरोन्नति, मेघौली विमानस्थल सञ्चालन, देवघाट धाममा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।

अटो ल्यान्ड निर्माण, विकास निर्माणमा गुणस्तरीयता कायम गर्न निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना र ढल प्रशोधन केन्द्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सहरलाई सुन्दर बनाउन मुख्य सडकमा तीन पांग्रे सवारी सञ्चालनमा रोक र अत्याधुनिक ल्यान्डफिल्ड साइट निर्माणलाई प्राथमिकता दिइएको छ ।

(काठमाडौंमा टेकराज थामी, पोखरामा रोहितराज पराजुली, वीरगन्जमा हदिश खुद्दार, भरतपुरमा दीपेन्द्र अधिकारी, वीराटनरमा गणेश लम्साल, नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij