काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले भैरहवा शाखालाई स्थान्तरण गरिएको छ । रुपन्देही जिल्ला सिदार्थनगर नगरपालिका वडा न. ५ मा रहेको बैंकको भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरिएको हो ।
स्थानीय माग अनुसार कारोवार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले सुविधासम्पन्न भवन निर्माण गरी शाखा सारेको बैंकले जानकारी दिएको छ । बैंकले हाल ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।
हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजीक्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।
यो बैंकले ‘बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने ‘ए’ वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।