चालू आर्थिक वर्षमा कन्दमूल खेती विस्तारका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको कुस्मा नगरपालिका–७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । यहाँका किसानले अहिलेसम्म निर्वाहमुखी कन्दमूल खेती गर्दै आएकोमा अब त्यसलाई व्यवसायिक बनाउन लागिएको हो ।
कन्दमूल खेती गर्न इच्छुक किसानलाई संगठित गरी यस वर्ष ६ क्वीन्टल कन्दमूलको विऊ वितरण समेत गरिएको छ । प्रति कृषक ५ देखि १० किलोका दरले ८० जनाभन्दा बढी कृषकलाई तरुल, वनतरुल, भ्याकुर, गिठा जस्ता कन्दमूलको विऊ वितरण गरिएको छ ।
धादिङ, काभ्रे, सिन्धुपाल्चोक जस्ता जिल्लामा कृषकलाई भ्रमणमा लगिएको र त्यहाँ यस्ता वस्तुबाट गरिएको आम्दानी देखेर यहाँका कृषक प्रभावित भएपछि यो खेती थालिएको हो । सदरमुकाम कुश्मा बजारसँगै जोडिएको वडा नं. ७ मा प्रसस्त पाखो बारी र खाली जमिन रहेको र त्यसलाई उपयोग गरी प्रसस्त आम्दानी गर्न सकिने देखिएपछि यो खेतीमा कृषकहरु आकर्षित भएका छन् ।