२०८३ साउन १० आइतबार

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ : प्रचण्ड

ई आर्थिक    बुधबार, असोज ४ २०७४
6.3K
Shares
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ : प्रचण्ड

४ असोज, गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा राजनीतिक स्थिरता हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रत्यक्ष कार्यकारी प्रमुख नै राख्नुपर्छ भन्ने एजेण्डा पहिलो संविधान सभा निर्वाचनका बेला नेपाली काँग्रेस, एमाले र मधेश केन्द्रित दलहरुले पनि सहमति जनाएको उल्लेख गर्दै सरकार टिकाउन मन्त्री थप गर्नैपर्ने, नौ÷नौ महिनामा सरकार फेर्नैपर्नेजस्ता प्रवृत्तिको अन्त्यका लागि भएपनि जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख व्यवस्थाका फाइदा जनतालाई बुझाउन जरुरी छ, यो राष्ट्र एकताको हितमा छ, विदेशी शक्तिको विभिन्न खालका चलखेल रोक्नलाई पनि त्यस्तो एउटा शक्तिशाली केन्द्र नेपालमा आवश्यक छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सबै माओवादी पुनः एक ठाउँमा आउनुपर्नेमा जोड दिदैं प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जहाँ जोसँग सहकार्य गर्दा उपयुक्त हुन्छ, उही दलसँग सहकार्य वा तालमेल गरिन्छ भन्नुभयो ।

देउवा नेतृत्वको वर्तमान सरकारले नै प्रदेश र केन्द्रको निर्वाचन गराउने बताउँदै उहाँले एमालेसँग मिलेर नयाँ सरकार बनाउने भन्ने कुरा गलत भएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले आफू चितवनबाट चुनाव लड्ने बताउँदै गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे वा अरु कोही नेता चुनाव लड्छ तर यसवारे अन्तिम टुंगो पार्टीले लगाउँछ भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij