१८ भदौ, काठमाडौं । श्रीयुक्ति र निधिशक्ति स्वास्थ्य संरक्षण केन्द्र नामक सामाजिक संस्थाहरुको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कागेश्वरी–मनोहरा नगरपालिकाको वडा नं २, आलापोट कृष्णचौरमा भएको उक्त कार्यक्रमलाई नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, सहयोगी बचत तथा ऋण सहकारी संस्था, भगवान युथ क्लब आलापोटले प्राविधिक सहयोग गरेको थियो ।

उक्त कार्यक्रमबाट चार सय बढी सर्वसाधारणहरु लाभान्वित भएको श्रीयुक्तीकी अध्यक्ष सुनिता विष्टले जानकारी दिइन । विशेषगरी ग्रामीण भेगका अशिक्षित, अर्धशिक्षित र स्वास्थ्य जनचेतना नभएका विभिन्न स्थानहरुमा आगामी दिनमा पनि कार्यक्रम गर्ने उनले बताइन् । ‘त्यस्ता स्थान छनौट गरी विभिन्न ठाउँमा स्वास्थ्य सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविरको आयोजना गर्ने हाम्रो योजना रहेको छ ।’ अध्यक्ष विष्टले भनिन्– ‘प्रत्येक तीन–तीन महिनामा यस्ता कार्यक्रमहरु गर्दै जानेछौं ।’
शिविरमा बिशेष गरी महिलाहरुको पाठेघरको क्यान्सर परिक्षणका लागि पेप टेस्ट र जेनेरल स्वास्थ्य जाँचको सुविधा दिईएको विष्टले बताइन ।

ती संस्थाहरुले निःशुल्क हेल्थ क्याम्पसँगै औषधी समेत निःशुल्क वितरण गरेका थिए । सो सामाजिक कार्यमा सहयोग पु¥याउने सबै सहयोगी संस्थाप्रति आयोजक संस्थाहरुले हार्दिक आभार व्यक्त गरेको छ ।
श्रीयुक्ति र निधिशक्ति दुबै गैरनाफामुलक संस्था हुन् । श्रीयुक्ती संस्थाले शिक्षा, स्वास्थ्य, वातावरणीय, चेतनामुलक, गरिबी निवारणमा सामाजिक परिचालन तथा नेपाल भित्र रहेको संस्कृतिको पहिचान, पर्यटन विकासका लागि कार्य गर्दै आएको छ ।

त्यसैगरी निधिशक्ति स्वास्थ्य संरक्षण नामक संस्थाले पनि स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।

यसअघि पनि दुबै संस्थाको आयोजनामा क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम गरेको थियो । साउन २६, २७ र २८ गते गरिएको उक्त कार्यक्रमवाट सयौं सर्वसाधारण लाभान्वित भएका थिए ।
