२०८३ साउन ९ शनिबार

निर्माण जिम्मा पाएका ठेकेदार मन्त्री बनिसके तर अझै बनेन स्वास्थ्यचौकी

ई आर्थिक    आइतबार, भाद्र ११ २०७४
3.1K
Shares
निर्माण जिम्मा पाएका ठेकेदार मन्त्री बनिसके तर अझै बनेन स्वास्थ्यचौकी

११ भदौ,  प्यूठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो । निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए । तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।

‘निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्‍यौं’, उनले भने, ‘लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन ।’ बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए । दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ । ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छ’, उनले भने, ‘गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन ।’ एकपटक सम्झौता पत्र थप गरिएको उनको भनाइ छ ।

ठेकेदार पुन हालै नेपाल सरकारको सिँचाइ राज्यमन्त्री भएका छन् । ठेकेदार सांसद हुँदै मन्त्री बने पनि खवाङका सर्वसाधारण भवन अभावमा प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको गुनासो पोख्छन् ।

स्थानीय यामलाल गिरीका अनुसार भवनको काम बीचमै रोकिएपछि हालसम्म निर्माण गरिएको भौतिक संरचनासमेत जीर्ण बन्दै गएको छ । निर्माणमा संलग्न मजदुरले ज्यालासमेत नपाएको उनले गुनासो गरे । ‘१५ लाखभन्दा बढी ज्याला लिन बाँकी छ’, उनले भने, ‘न भवन बन्यो, न त ज्याला पाइयो।’अाजकाे अन्नपूृण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij