४ भदौ, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।
व्यवस्थापिका– संसद्को आइतवारको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काङ्ग्रेसका सांसद गगन थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदनलाई गराएका छन् ।
त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारीबाहेक केही होइन भन्दै उनले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग गरेका छन् । ‘एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम ग¥यो’, उनले भने, ‘निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।”
शनिवार राति बूढानीलकण्ठमा स्थानीयवासीले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेका अवस्थामा नियन्त्रणमा लिएर आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो । रासस