२०८३ साउन ९ शनिबार

सरकारले बाढीपीडितलाई प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ दिने, शनिबारदेखि नै वितरण गरिने

ई आर्थिक    शनिबार, भाद्र ३ २०७४
2.9K
Shares
सरकारले बाढीपीडितलाई प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ दिने, शनिबारदेखि नै वितरण गरिने

३ भदौ, काठमाडौं । सरकारले बाढीपीडितलाई प्रत्यक्ष राहतस्वरूप दैनिक ७० रुपैयाँ दिने निर्णय गरेको छ।

गृह मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषले बाढी प्रभावितलाई प्रतिव्यक्ति ७० रुपैयाँ दिने निर्णय गरेको हो। सो निर्णयलाई पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित ३० जिल्लाका पीडितलाई दैनिक ७० रुपैयाँका दरले एक महिनाको एकमुष्ट रकम दिने निर्णय गरिएको जानकारी दिए। पीडितले आफूलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री आफैँ खरिद गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गृहमन्त्री शर्माले बताए।

‘३० दिनसम्मका लागि कसैले पनि भोकै बस्नु नपरोस् भनेर चामल, दाल, नुनतेलसहितको सामग्री किन्न पुग्ने न्यूनतम आँकलन गरेर प्रतिव्यक्ति ७० रुपैयाँ दिने निर्णय गरिएको हो,’ उनले भने।

शनिबारदेखि नै वितरण
गृह मन्त्रालयको प्रस्तावमा सरकारले स्वीकृति प्रदान गरेकाले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिमार्फत शनिबारदेखि ७० रुपैयाँका दरले रकम वितरण गरिने तयारी गरिएको गृहमन्त्री शर्माले जानकारी दिए। गृहले हालसम्म विभिन्न जिल्लामा सात करोड १० लाख रुपैयाँ पठाइसकेको छ।

गृहमन्त्री शर्माले राहतका लागि बजेट अभाव नभएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट समेत एक अर्ब रुपैयाँ निकासा भएको जानकारी दिए। ‘हामीस“ग रकमको अभाव छैन, त्यसैले राहतस्वरूप रकम पठाउन समस्या छैन,’ उनले भने। प्रभावित भएर संकटमा परेका ४० हजार पाँच सय ७८ जनाको उद्धार गरिएको गृहमन्त्रीले बताए।

हालसम्म के–कति क्षति भयो ?
गृहमन्त्री शर्माका अनुसार बाढीपहिरोबाट हालसम्म ३० जिल्लामा एक सय ३५ जनाको मृत्यु भएको छ। ४१ जना घाइते भएका छन्। अझै ३० जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ।

रौतहटमा केही दिनदेखि बेपत्ता भएका भनिएका पाँचजना शुक्रबार मात्रै सम्पर्कमा आएको गृहमन्त्री शर्माले जानकारी दिए। अन्य बेपत्ताको खोजीकार्य भइरहेको छ। बाढीपहिरोबाट ३० जिल्लामा ७९ हजार आठ सय १२ घर पूर्ण रूपमा क्षति भएको र एक लाख चार हजार चार सय २५ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।

भौतिक क्षतिको विवरण सम्बन्धित मन्त्रालयमार्फत आफ्नो क्लस्टरमा पर्ने निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट माग गरिएको गृहले जानकारी दिएको छ। आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij