२०८३ साउन ९ शनिबार

अझै पनि गाउँमा यसरी चल्छ मुखियाको शासन : बेवास्ता गरी काम गर्न सक्दैन सरकारी निकाय

ई आर्थिक    शनिबार, भाद्र ३ २०७४
4.4K
Shares
अझै पनि गाउँमा यसरी चल्छ मुखियाको शासन : बेवास्ता गरी काम गर्न सक्दैन सरकारी निकाय

३ भदौ, मुस्ताङ । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए ।

स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो । जोमसोममा दुईवटा टोल छन् । सरकारी कार्यालय रहेको टोलमा रामप्रसाद थकाली र एयरपोर्ट टोलमा सुरेन्द्र थकाली मुखिया छानिएका छन् ।

न्याय-निसाफको नियमन गर्न यहाँ सरकारका वैधानिक अंग जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय छन् । विकास निर्माणको काम गर्न दर्जनौं सरकारी निकाय, गैरसरकारी संस्था छन् । स्थानीयस्तरको एजेन्डामा काम गर्न जनप्रतिनिधिसमेत आइसकेका छन् । यति हुँदा पनि यहाँ अधिकांश काम भने मुखियाले नै गर्छन् । जोमसोम बजारमा त मुखिया कार्यालय नै छ ।

जोमसोममा मात्र होइन, मुस्ताङका पाँचै गाउँपालिकामा जनप्रतिनिधि आइसकेका हुन् । दालमे गाउँपालिकामा राजु विष्ट, लोमान्थाङमा सुवर्णकुमार विष्ट, बाह्रगाउँ मुक्ति क्षेत्रमा धारा गुरुङ, थासाङमा शेरबहादुर थकाली र घरपझोङमा आसबहादुर थकाली निर्वाचित भएका छन् । २५ वटै वडामा पनि जनप्रतिनिधि छन् । तर, २५ वडाका करिब ५० गाउँमा ५० जनै मुखिया चुनिएका छन् ।

मुस्ताङमा मुखियाको रजाइँ सयौं वर्षदेखिको हो । त्यसैले सरकारी कार्यालय र निर्वाचित जनप्रतिनिधि पनि उनीहरूको अस्तित्व सहज रूपमा स्वीकार गर्छन् । उनीहरू मुखियालाई ‘अगुवा’ वा ‘सहयोगी’का रूप लिन्छन् । त्यसैले मुखिया पनि आफूसँग समन्वय नगरी गरिएको काम उल्टाइदिने हैसियत राख्छन् ।

मुखिया चुन्ने विधि

कागबेनी बजारमा बर्सेनि २० देखि ६० वर्ष उमेर समूहका आदिवासीमध्ये तीनजना मुखिया चुनिन्छन् । गोलाप्रथा गरेर नयाँ मुखिया चुन्ने परम्परा रहेको शिक्षक नारायण पौडेल बताउँछन् । तीनै जना मुखियाले चार-चार महिना प्रमुखको जिम्मेवारी सम्हाल्छन् । बाँकी दुईजनाले सघाउने पौडेलको भनाइ छ । जोमसोममा भने मुखियाको कार्यकाल दुई वर्षको हुने स्थानीय पत्रकार सुन्दरकुमार थकाली सुनाउँछन् । मुखिया गाउँबाहिर जाँदा विश्वासपात्रलाई वारेस बनाउँछन् ।

मुखियाको कार्यभार

मुखियालाई बेवास्ता गरी काम गर्ने हिम्मत सरकारी निकायले गरेका छैनन्। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्का भन्छन्, ‘मुस्ताङमा मुखियालाई बाइपास गरेर सरकारी नियम पूर्णरूपमा लागू गराउन गाह्रो छ।’

गाउँपालिका अध्यक्ष, वडाध्यक्षले पनि मुखियासँग समन्वय गरेर काम गर्नुपर्ने व्यवस्था यहाँ छ। ‘साँधसीमा, वन पैदावर, नदी, सार्वजनिक सम्पदाको विवाद सुल्झाउने, मेलापात, बिहेवारी, प्रकृति पूजाको दिन तोक्ने हाम्रो काम हो’, कागबेनीका मुखिया ठाकुर गुरुङ भन्छन्, ‘गोठ, खर्क मिलाउने, वस्तुभाउले बाली खाएको झगडा, घरायसी झगडा मिलाउने, गाउँघर, बाटो सरसफाइको घोषणा गर्ने सबै हामीले नै मिलाउने हो।’ जघन्य मानवीय अपराधबाहेकका सबै काम मुखियाले नै मिलाउने गर्छन्।

समस्या लिएर भेट्न जाँदा मुखियालाई खादा ओढाई एक बोतल रक्सी दिने चलन छ। मुखियाले सुरुमा वादी र प्रतिवादी दुवैसँग बराबर रकम असुल्छन्। ‘उजुरी गर्न आउने र प्रतिवादीसँग छलफल गर्नुभन्दा अघि नै केस हेरी एक सयदेखि तीन हजार रुपैयाँसम्म लिन्छौं’, कर्मा छोक्ले भन्छन्, ‘छलफलपछि जो निर्दोष ठहरिन्छ, उसलाई खादा लगाएर पैसा पनि फिर्ता हुन्छ। जसको गल्ती ठहरिन्छ उसलाई माफी पनि मगाइन्छ, दोष हेरी थप जरिवाना पनि हुन्छ।’

कचहरी प्रायः राति हुन्छ। ठूलै विषयको कचहरी गर्नुपरे दिउँसो पनि गरिन्छ। मुखियाले मात्र विवाद मिलाउन नसके सातजना सल्लाहकारलाई बोलाएर सहजीकरण गर्न लगाइन्छ।

मुखियाले कचहरी बोलाउने घरलाई स्थानीय भाषामा ‘नेचाङघर’ भनिन्छ। प्रत्येक गाउँमा नेचाङघर हुन्छ। सबैलाई पायक पर्ने ठाउँमा सुविधासम्पन्न नेचाङघर बनाइएको हुन्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij