२ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्राचारसम्बन्धी उजुरी दिन टोल फ्रि नम्बर सार्वजनिक गरेको छ ।
विहिबार अख्तियारले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको हो ।
सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस मागे तत्काल १०७ नम्बर डायल गरेर आयोगमा उजुरी गर्न सकिनेछ । अख्तियारले पाइलट फेजमा उपत्यकाका पाँच कार्यालयमा टोल फ्री नम्बरको होडिङ बोर्ड र स्टिकर राख्ने भएको छ ।
अख्तियारले मालपोत कार्यालय, यातायात व्यवस्था विभाग, नापी कार्यालय, नगरपालिकाको नक्सा शाखा र श्रम विभागमा सेवाग्राहीले देख्ने स्थानमा टोल फ्री नम्बरको बोर्ड र ढोकाढोकामा स्टिकर राख्ने भएको हो ।
‘हामीले सेवाग्राहीले देख्ने स्थानको पहिचान गरिसकेका छौं, शुक्रबारबाट नै यो काम हुनेछ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालले बताए ।खनालले उजुरी गर्न फोन उपयुक्त माध्यम भएकाले सेवाग्राहीको बढी भीड हुने ठाउँ छनोट गरी होडिङ बोर्ड राख्न लागिएको बताए । ‘सर्वसाधारणबाट टेलिफोनमा धेरै गुनासो आए त्यसैले सर्वसाधारणको सहजता र सरकारी निकायमा हुने भष्ट्राचार अनि घुसखोरी रोकथामका लागि निःशुल्क प्रयोग गर्न मिल्ने टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘फोनबाट उजुरी गरेपछि त्यसको रेकर्ड हुन्छ, टाइप हुन्छ र उजुरीका रूपमा फाइल हुन्छ ।’
टोल फ्री नम्बरबाट एकैपटक सात जनाको गुनासो लिन सकिने व्यवस्था गरिएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए । ‘आयोगले सातवटा डेस्कको व्यवस्था गरेको छ, जसले गर्दा सर्वसाधारणले भनेको बेलामा सम्पर्क हुन सक्छ ।’ सो नम्बरबाट उजुरी गरेपछि तत्काल एक्सन लिने, रंगे हात प्रक्राउ गर्ने कार्यसमेत हुने उनले बताए ।
पत्रकार सम्मेलनमा स्टिङ अपरेसनको केही श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो । आयल निगम र साझामा अनुसन्धान जारीअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितताका विषयमा अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारका सचिव राजन खनालले आयल निगम र साझा प्रकाशनमा भएको अनियमिताको उजुरीको विषयमा आयोगले अनुसन्धान सुरु गरिसकेको बताए । ‘अख्तियारले अनियमितता भएको भनेर आरोप मात्र लगाएर हुँदैन, त्यसको तथ्य प्रमाणका आधारमा अदालतमा मुद्दा चलाउनुपर्ने हुन्छ,’ सचिव खनालले भने, ‘त्यसैले अहिले यो विषयमा अरू नबोलौं ।’
आजको राजधानी दैनिकबाट