२०८३ साउन ९ शनिबार

ड्रोनको प्रयोग गरी गोहीको गणना

ई आर्थिक    आइतबार, असार २५ २०७४
4.6K
Shares
ड्रोनको प्रयोग गरी गोहीको गणना

२५ असार, गुलरिया(बर्दिया)। संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएकोे छ ।

तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले बताउनुभयो ।

निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो । माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको देखिन्छ ।
विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका प्रमुख नदीहरू नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने थापाको भनाइ छ ।

सन् २०१६ मा गरिएको गणनाअनुसार ती सबै नदीमा घडियाल गोही जम्मा १९८ वटा थिए । यस वर्ष बर्दियाका नदीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । यस वर्ष गोहीले फूल पारेर छाडेपनि चट्याङ परेर अन्डा फुट्दा बढी बच्चा जन्मन नसकेको थापाले बताउनुभयो ।

अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति गोहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त वासस्थान मानिन्छ । नेपालमा पाइने दुई प्रजातिका मगर गोही र घडियाल गोही यस निकुञ्जमा र कर्णाली तथा र बबई नदीको किनार र छेउछाउका सिमसार क्षेत्रमा पाइने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij