२१ असार, हेटौंडा । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ती गरेको भन्दै हेटौंडाका उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेदवार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।
यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका राकेशकुमार शर्माले आफ्नै श्राद्ध पनि गर्न भ्याएका हुन । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।
यसअघि २०७२ को संविधान मरिसकेको भन्दै श्राद्ध गरेका शर्मा यही संविधान अनुसार २०७४ वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा उनले दुई अंकको मत समेत ल्याउन सकेनन्।
संविधान मरेको घोषणा गर्ने आफूले नै निर्वाचनमा उम्मेदवारी दिएकोमा आत्म आलोचन गर्दै आफ्नो श्राद्ध गरेको उनले बताए । उनले आफू जिवितै रहँदा श्राद्ध गर्ने प्रचलन रहेको समेत बताए । आफूलाई हिन्दु राष्ट्र र राजसंस्थाको पक्षपाति बताउँदै शर्मा विभिन्न समयमा यस्तै खाले गतिविधि गरेर चर्चामा आउने प्रयास गरिरहन्छन् ।
अर्को कुरा शर्माले आफुलाई आफैले हालेको मतमसमेत मतगाणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो ।