२ असार, काठमाडौं । दुई दशकको हाराहारीमा भइरहेको स्थानीय निकायको निर्वाचनमा कसैले जितेर आफ्नो इतिहास बनाइरहेका छन् भने कसैले आफ्नो नराम्रो हार व्यहोरिरहनु परिरहेको छ ।
तर, त्यो भन्दा फरक रेकर्डहरु पनि यो निर्वाचनले राखिरहेको छ । निर्वाचनमा आफूले टिकट नपाएको भन्दै एकजना उम्मेदवारले विहीवार आत्महत्या गरेका छन् । माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका हुन। माओवादी केन्द्रबाट उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १६ बाट खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका स्थानीय जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।
श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिएको अवस्थामा फेला परेको थिए । श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहत कार्यक्रम आयोजना गरी उम्मेदवार सार्वजनिक गरिएको थियो । उम्मेदवार भई भोट मागिरहेका अवस्थामा पार्टीले बिना जानकारी टिकट खोसेर अरुलाई दिएपछि उनी पीडाले आत्महत्या समेतको अवस्थामा पुग्नु प¥यो । सो टिकट सोही वडामा रहेको धौरीका राजकुमार तामाङलाई दिइएको थियो । टिकट खोसपछि उनले अपमान महसुस गरेर आत्महत्याको बाटो रोजेको बुझिएको छ ।
तीन चरणमा भइरहेको यो निर्वाचनले कतिको ज्यान लिने हो थाहा छैन । टिकट वितरणमा प्रत्येक पार्टीमा त्यत्तिकै असन्तुष्टि रहेको छ ।
यो त भयो निर्वाचनमा टिकट नपाएर ज्यान गएको एउटा उदाहरण । तर टिकट नपाएर जागिर चट हुने पनि धेरै छन् । खोटाङ्ग जिल्लाबाट विद्यालयको शिक्षक छाडेर टिकट नपाउँदा जागिर जानेको लामै सूचि बन्ला जस्तो छ ।
प्राप्त जानकारी अनुसार खोटङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक वसन्त राईले वैशाख ५ मा शिक्षक पदबाट राजीनामा दिएका थिए ।
कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लबी गरे । मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छँदाखाँदाको जागिर छाडे । तर, टिकट लिने र दिने क्रममा कांग्रेसभित्रको कडा प्रतिष्पर्धामा उनी पछि परे । ‘टिकट लिएर लड्नकै लागि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएको हुँ ।’ टिकट नपाउँदा जागिर उडेका पूर्वशिक्षक राईको जागिर गए पनि अब टिकट पाउनेलाई सहयोग गरेर अघि बढ्ने निर्णयमा पुगे ।
उनी त एक प्रतिनिधि उदाहरण मात्र हुन् । आगामी असार १४ गते हुने निर्वाचनका लागि खोटाङका ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकले जागिर छाडेका छन् । जागिर छाड्नेमध्ये केहीले टिकट पाए पनि केही भने यता न उता भएको छ ।
खोटाङ्ग जिल्लाका शिक्षकले जस्तै विभिन्न जिल्लाबाट ठूलो संख्यामा शिक्षकले निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका छन् । त्यस्तै अन्य क्षेत्रका जागिरेले समेत उम्मेदवार दिने शिलशिलामा आफ्नो पेशावाट राजिनामा दिएका छन् । ती मध्ये कतिले उम्मेदवारी नपाएर र हारेर आफ्नो जागिर चिप्ल्याउने हुन प्रतिक्षाको विषय भएको छ ।