२०८३ साउन ९ शनिबार

अढाइ लाख तलब दिदा समेत चिकित्सक नआउने ठाउँका जनताका लागि भगवान् बने चिकित्सक पवन

ई आर्थिक    आइतबार, बैशाख १७ २०७४
4.3K
Shares
अढाइ लाख तलब दिदा समेत चिकित्सक नआउने ठाउँका जनताका लागि भगवान् बने चिकित्सक पवन

१७ वैशाख , जाजरकोट । गत वर्ष सरकारले ५० शै्ययामा स्तरोन्नति गरेको जाजरकोट जिल्ला अस्पतालका लागि सरकारले उपलब्ध गराउने बाहेक आन्तरिक स्रोतबाट रु अढाइ लाख तलब दिएर विज्ञापन गर्दा कुनैपनि चिकित्सक आउन नरुचाउने जाजरकोटबासिन्दा लागि डा. पवन शाक्य भने भगवान् नै आएजस्तो भएको छ ।

यहाँ नियुक्ति लिएर आउने वा सरुवा भएर आउने जुनसुकै चिकित्सक पनि विभिन्न बाहना बनाएर अन्यात्रै जाने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. चाँदनी जैसवाल बताउनुहुन्छ । एक विशेषज्ञका लागि अढाइ लाख तलब दिएर विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएको उहाँको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयले चार विशेषज्ञ चिकित्सक गत एक वर्षदेखि जाजरकोट पठाउन निकै पहल गरे पनि सम्भब नभएको अवस्तामा काठमाडौँवासी तन्नेरी डा. पवन भने जिल्लाको सबैभन्दा दुर्गम र विकट गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा २४सै घन्टा खटेर जिल्ला अस्पताल बराबरको सुविधा उपलब्ध गराउनुभएकाले उहाँलाई स्थानीयबासीले भगवान्सरह मानेका हुन् ।

दश महिनाअघि स्थायी नियुक्ति पाउनुभएका डा. पवनलाई विकट गाउँ गर्खाकोटमा पठाएकामा भौगोलिक विकटता, अप्ठेरो बाटो, दुर्गम बस्ती, अभाव र कष्टको बेवास्था गर्दै सो उहाँँले सो ठाउँलाई सहर्ष स्विकार गर्नुभएको थियो ।

गर्खाकोटको प्राथमिक स्वास्थ्य केन्द्रलाई सुधार गर्नुभएका डा पवन सेवा र सुविधामा जिल्ला अस्पतालसँग टक्कर लिन सफलसमेत सफल हुनुभएको छ ।

जुनीचाँदे–९ कोर्ताङकी धनसरा टमाटाका अुनसार गर्खाकोटमा चिकित्सक होइन भगवान् नै आएको हो । “ पहिले सानो कष्टया (बिरामी) हुँदा पनि र नेपालगन्ज जानुपथ्र्याे तर अहिले त सबै यही नै उपचार हुन थालेकाले पाँच घन्टाको पैदल हिँडेर पनि यही प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेको हुँ”, उहाँ भन्नुहुन्छ, “अहिले त जति टाढाबाट हिँडेर पनि यहीँ आउन मन लाग्छ ।”

निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा जैसवाल पनि डा. पवनका कारण सो प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बराबरको सेवा सुविधा उपलब्ध भएको स्विकार्नुहुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रका लागि चाहिने औषधि, उपकरण र अन्य सामान आफँैले मन्त्रालय विभाग र अन्य सरोकारवाला निकायमा पुगेर जोहो गर्नुभभएका डा. पवनले सुरुमा गर्खाकोट जाँदा आफ्नैे गोजीको पैसा खर्च गरेर केही सामानसमेत समेत किन्नुभएको उहाँले जानकारी दिनुभयो ।

पहिले अनमी र अहेवले चलाउँदा सेवासुविधाको हिसाबले स्थानीयवासी नै उपचारका लागि नजाने उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने भिडिओ एक्स–रे, इसिजी, अक्सिजन कन्सर्नट्रेटर, रगत तथा पिसाव जाँच गर्ने ल्याबको सुविधा, शवपरीक्षण लगायतको व्यवस्थाले आफूहरुले ठूलो राहतको अनुभूति गरेको स्थानीयवासी राजबहादुर शाहीको भनाइ छ । कुनै सार्वजनिक बिदाको समेत वास्ता नगरी सबै प्रकारका स्वास्थ्य सेवा सञ्चालन गरेपछि अहिले सो प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाग्राहीको भीड लाग्न थालेको उहाँ बताउनुहुन्छ
राम्रोसँग फोन पनि नलाग्ने विकट गाउँमा २४ घन्टे वाइफाईसमेत चल्ने व्यवस्था गर्नुभएका डा. पवन आफैँ बिरामीको शै्ययामा बिछयाइएका तन्ना र अन्य कपडा धुने समेत गर्नुहुन्छ ।

अन्य ११ जना स्टाफसँगै रहनुभएका उहाँमा अहम्को भावना पनि छैन स्वास्थ्य केन्द्रको भित्र बाहिर जताततै सफाइ गर्नेदेखि अन्य सबै काममा आफँै खटिने स्वभावले हामीलाई पनि काम गरुँ गरुँ लाग्ने गरेको त्यहाँ कार्यरत अनमी सरस्वती शाही उल्लेख गर्नुहुन्छ ।
डा. पवनले काम गरेको देख्दा अचम्म लागेको बताउनुहुने स्थानीय शिवपुरी माविका प्रधानाध्यापक जयबहादुर शाही भन्नुहुन्छ, “अस्पताललाई आफ्नो घरजस्तो मानेर जति बेला गए पनि बिरामीको उपचार र सेवा गर्न उहाँ तयार हुन्छन्,” यस प्राथमिक स्वास्थ्य केन्द्रमा सोलार पावर र अन्य पूर्वाधार निर्माणको भरपर्दाे व्यवस्था छ ।

जति बेला पनि बिरामीको सेवाका लागि डा पवन र स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्ने गरेकाले अहिले गर्खाकोटलगायत अन्य गाउँका बासिन्दा यही स्वास्थ्य केन्द्रमा आउँदा जिल्ला अस्पताललाइ नै भुल्ने गरेको ६६ वर्षीया शीतला शाह बताउनुहुन्छ “पहिले त्यहाँ जानै मनै लाग्दैनथ्यो तर अहिले त जति बेला गए पनि गतिलो उपचार पाइन्छ ।”

“दुर्गम र विकट गाउँका जनताका लागि केही काम गरेर देखाउन आफू गर्खाकोटमा आएको उल्लेख गर्नुहुने डा. शाक्य बताउनुहुन्छ, “सहर र सुगमका जनताले त सजिलै सुविधा पाउँछन् तर दुर्गमका जनतालाई निकै समस्या छ त्यही बुझेर म यहाँ आएको हुँ, म जति बेलासम्म गर्खाकोटमा बस्छु यहाँका जनताले सजिलै र सहज ढङ्गले स्वास्थ्य सेवा पाउन सक्ने बनाउँछु ।”रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij