२०८३ साउन ९ शनिबार

महासंघमा अन्तिमसम्मै सहमतिको प्रयास

ई आर्थिक    आइतबार, चैत्र २७ २०७३
3.4K
Shares
महासंघमा अन्तिमसम्मै सहमतिको प्रयास

२७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका प्रतिस्पर्धीले अन्तिम समयसम्मै सहमतिको प्रयास गर्ने बताएका छन् । महासंघको २८ चैतमा हुने चुनावमा स्पष्ट प्यानलसहित होमिएका वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय शेखर गोल्छा र किशोर प्रधानले सहमतिको प्रयास अन्तिमसम्मै जारी राख्ने बताएका छन् ।

दुवै प्यानलका पदाधिकारी उम्मेदवारहरुले गरेका अन्तर्कृयामा गोल्छा र प्रधानले सहमतिको ढोका अन्तिम दिनसम्मै खुलै राख्ने बताए । ‘हामीले प्रजातान्त्रिक पद्धतिलाई स्विकारेर निर्वाचनमा जानु उपयुक्त हुन्छ,’ गोल्छाले भने, ‘तर, समग्र निजी क्षेत्रको हितका लागि सहमति गर्न सकिन्छ, यसका लागि म तयार छु ।’

महासंघमा आफू सधैँ सहमतिका साथ अघि बढेको बताउँदै अर्का उम्मेदवार प्रधानले अझै सहमतिका साथ अघि बढ्न आफू तयार रहेको बताए । ‘चुनाव आउन तीन दिन बाँकी छ, यसर्थ सहमतिको प्रयास सुरु गर्न ढिला भइसकेको छ,’ प्रधानले भने, ‘तर, म कहिले पनि सहमतिबाट टाढा भागेको छैन, अन्तिम दिनसम्मै सहमतिको प्रयास हुनेछ ।’

उद्योग वाणिज्य महासंघ आपसी सहमति र सहकार्यमा चलिरहेको महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । गोल्छा प्यानलको जिल्ला नगरतर्फको उपाध्यक्षका उम्मेदवार रहेका श्रेष्ठले एसोसिएटमा सहमति भइसकेको बताउँदै अन्य पदमा पनि सहमति जुट्न सक्ने बताए ।

कार्यकाल छोट्याउन दुवै पक्ष सहमत
उनीहरूले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि महासंघ कार्यसमतिको कार्यकाल छोट्याउने बताए । प्रधानले तीनवर्षे कार्यकाल लामो भएकाले त्यसलाई दुई वर्षमा छोट्याउने आफ्नो योजना रहेको बताए । त्यस्तै, गोल्छाले काम गर्न एक वर्ष नै पर्याप्त हुने बताउँदै तीनवर्षे कार्यकाललाई आफ्नै पालामा छोट्याउने प्रतिबद्धता व्यक्त गरे ।

वस्तुगतमा समान एजेन्डा
वस्तुगत उपाध्यक्षका प्रत्याशीहरूको एजेन्डा समान देखिएको छ । उनीहरूले आफ्नो मुख्य एजेन्डा नै महासंघको निर्वाचनमा वस्तुगतको मतभार (वेटेज) बढाउने, उत्पादनको ब्रान्डिङ गर्ने र निर्यात वृद्धि गराउने रहेको बताए । प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शंकर पाण्डेले महासंघ र वस्तुगत संघको संस्थागत सुधार र सुदृढीकरणमा जोड दिने बताए । वस्तुगत उपाध्यक्षका अर्का उम्मेदवार अनुपबहादुर मल्लले वस्तुगत संस्था महासंघको ‘ब्रेन’ भएको बताउँदै वस्तु तथा सेवाको निर्यात प्रवद्र्धनमा अझ बढी योगदान दिने बताए । गोल्छा प्यानललका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले मुलुकको समग्र आर्थिक विकासमा योगदान दिने बताए । महासंघका सबै पदाधिकारी उम्मेदवारको एजेन्डा समान रहेको उनको भनाइ थियो ।

६४ पदलाई ११२ को उम्मेदवारी
महासंघको आसन्न निर्वाचनमा ६४ पदका लागि ११२ जनाले उम्मेदवारी दिएका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० सदस्यका लागि ११२ जनाको उम्मदेवारी दर्ता भएको छ । यस वर्ष अध्यक्ष पदका लागि निर्वाचन हुने छैन । महासंघले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान बनाएको छ । यसअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आसन्न साधारणसभापछि स्वतः अध्यक्ष बन्नेछिन् ।

स्वस्थ प्रतिस्पर्धापछि सहकार्य
वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीद्वय गोल्छा र प्रधानले स्वस्थ प्रतिस्पर्धी भावना बोकेर चुनावमा अघि बढेको बताए । चुनावमा ‘आरोप–प्रत्यारोप’ र ‘गालीगलौजको’ फोहोरी खेल नखेलेको बताए । वरिष्ठ उपाध्यक्षका प्रत्याशी गोल्छाले चुनावपछि पनि सहकार्य हुने बताए । ‘चुनावमा हारजित हुन्छ र त्यसलाई लिएर इगो राख्नुहुँदैन,’ उनले भने, ‘जसले जिते पनि महासंघले जित्ने हो ।’ त्यस्तै, प्रधानले चुनावी आचारसंहितालाई पनि ख्याल गर्नुपर्ने बताए । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij