२०८३ साउन ११ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी सुरु, गोल्छा र प्रधान प्यानलबीच प्रतिस्पर्धा हुने

ई आर्थिक    बुधबार, चैत्र २ २०७३
14K
Shares
नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी सुरु, गोल्छा र प्रधान प्यानलबीच प्रतिस्पर्धा हुने

२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । चुनावको मिति नजिकिदै गर्दा उद्योगीहरुको चुनावी सरगर्मी पनि बढ्न थालेको हो ।

काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको महासंघको ५१ औं वार्षिक साधारणसभाले ६७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघले चैत २८ गते साधारणसभा तथा स्थापना दिवस मनाउने र २९ गते चुनाव गर्ने सूचना समेत सार्वजानिक गरिसकेको छ । उम्मेदवारहरुले चैत २७ साँझ ६ बजे भित्र आफ्नो उम्मेदवारी दर्ता गराइसक्नु पर्ने महासंघका निर्देशक हंशराज पाण्डेले जानकारी दिनुभयो ।

चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारका आकांक्षीहरु आ–आफ्नो पक्षमा लभिङ्ग र भोट माग्ने अभियानमा व्यवस्त हुन थालेका छन् । चिया देखि सिया गफसम्म अहिले उद्योगी व्यवसायीहरु यही चुनाबको प्रगति र छलफलमा केन्द्रीत हुने गरेका छन् ।
बरिष्ठ उपाध्यक्षमा वर्तमान तीन वटै उपाध्यक्षहरु आकांक्षी देखिए पनि दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुबै पक्षले आफ्नो पक्षमा जिताउन प्रयास गरे पनि सस्थापना पक्षको समर्थन रहेको गोल्छा समुह केही वलियो देखिएको छ ।
अहिलेसम्मको माहौल हेर्दा बर्तमान उपाध्यक्षद्वय किशोरकुमार प्रधान र शेखर गोल्छाको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिने संभावना रहेको छ । प्रधान उद्योग बाणिज्य समूहबाट उपाध्यक्ष हुनुहुन्छ भने गोल्छा एसोसिएट समूहबाट उपाध्यक्ष हुनुहुन्छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको तर्फबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठलाई छानिको छ । उहाँ आफैं पनि बरिष्ठ उपाध्यक्षको आकांक्षी समेत हुनुहुन्थ्यो । महासंघमा राजनीतिक आस्थाको आधारमा उम्मेदवार हुने होइन, टिममा मिलेर व्यवसायिक हितमा काम गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

बरिष्ठ उपाध्यक्षका दुबैले औपचारिक कार्यक्रममै बरिष्ठ उपाध्यक्षमा आ–आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उहाँहरुले पहिलोपटक विराटनगरमा आयोजित एकै कार्यक्रममा औपचारिक उम्मेदवारीको घोषणा गर्नुभएको थियो ।

बस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठले यसपटक पुनः उपाध्यक्षमै रहेर काम गर्ने पक्का भएको छ । उहाँ शेखर गोल्छाको प्यानलबाट जिल्ला नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष उम्मेदवार बन्दै हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षको दावेदार समेत रहनुभएका उपाध्यक्ष श्रेष्ठसँग प्रधान समूहका प्रमोद श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।

गोल्छाको प्यानलबाट एसोसियट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्ववारी दिनु हुने भएको छ । प्रधान समूहमा एसोसिएटको उपाध्यक्ष अहिलेसम्म कसैलाई पनि अघि सारिएको छैन् । यसरी हेर्दा गोल्छा प्यानलका ढकाल लगभग सर्वसम्मत एसोसिएट उपाध्यक्ष हुने सम्भावना रहेको छ ।

त्यसैगरी बस्तुगत संघको उपाध्यक्षमा गोल्छाले उमेशलाल श्रेष्ठलाई अघि सार्नुभएको छ । उहाँ पनि उद्योग वाणिज्य क्षेत्रमा प्रभावशाली व्यक्तित्वमा पर्नुहुन्छ । उहाँसँग प्रधान समूहका शंकर पाण्डेले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।

त्यसैगरी गोल्छा प्यानलमा कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानलाई अघि सार्ने संभावना रहेको स्रोतले उल्लेख गरेको छ । प्रधान प्यानलबाट भने कोषाध्यक्षमा अन्जान श्रेष्ठको बढी संभावना रहेको छ । अटोमोवाइलका क्षेत्रमा सक्रिय युवा र जुझारु प्रधान समूहका सबैभन्दा प्रभावशाली व्यक्तित्व मानिनु हुन्छ । उद्योग वाणिज्य क्षेत्रमा उहाँलाई उपाध्यक्षको उम्मेदवारको रुपमा हेरिएको थियो ।

गोल्छा प्यानललाई पनि अन्य धेरै जुझारु र सक्रिय युवा उद्यमीहरुको साथ रहेको छ । प्रबलजंग पाण्डे र सौरभ ज्योतिलगायतले गोल्छालाई साथ रहने बुझिएको छ ।
महासंघका एक प्रभावशाली कार्यसमितिको बुझाईमा यस पटकको चुनावमा नसोचेको परिणाम आउन सक्ने बताए ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै पूर्व केन्द्रीय अध्यक्ष तथा महासघका उद्यमी ब्यवसायीहरुको सहयोग समर्थनमा उम्मेदवारी घोषणा गरेका छन् । उहाँले उद्योग व्यवसायको विकास र निजीक्षेत्रको एकताको लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । प्रधान समूहले ‘हाम्रो अभियान, सक्षम नेतृत्व सशक्त संगठन’ भन्ने नारासहित उमेदवारी घोषणा गरेका छन ।

प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, सुरज वैद्य, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णिकार, प्रभावशाली केन्द्रीय सदस्य अञ्जन श्रेष्ठलगायत विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

त्यसो त महासंघको यो निर्वाचनमा नयाँ स्वतन्त्र प्यानल पनि खडा हुने संभावना रहेको छ । नेपाल कार्पेट एक्पोर्टर्स एसोसिएसनका अध्यक्ष अनुपबहादुर मल्लले बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष मल्लको पनि यो एउटा प्यानल झै हुनेछ । उहाँको यो प्यानलमा बस्तुगत तर्फबाट उपाध्यक्षसहित १२ जनाले कार्यसमितिको लागि उम्मेदवारी घोषणा गरेका छन् । हालैमात्र टंगालस्थित स्वार्णिम बुटिक होटलमा औपचारिक कार्यक्रम गरी उनीहरुले स्वतन्त्र प्यानलको नाममा उम्मेदवारी घोषणा गरेका थिए ।

सो प्यानलमा फेल्ट एसोसिएसन अफ नेपालको तर्फबाट नरेशलाल श्रेष्ठ, नेपाल फ्रेड फरवार्डर्स एसोसिएसनको तर्फबाट प्रकाशसिंह कार्की रहनुभएको छ । त्यसैगरी नेपाल हस्तकला महासंघतर्फबाट हेमरत्न शाक्य, फिसिएरी एसोसिएसन अफ नेपालको तर्फबाट तुलसीलाल गिरी, नेपाल कपडा तथा सिलाई व्यवसायी संघको तर्फबाट सुरज बज्राचार्य, फुटवयर म्यानुफ्याक्चरर्स् एसोसिएसनको तर्फबाट रबिन श्रेष्ठ, नेपाल प्रिन्टर्स एसोसिएसनको तर्फबाट नरेशबहादुर मल्ल, कुरियर एसोसिएसन अफ नेपालको तर्फबाट खेम पन्त, नेपाल विज्ञापन संघको तर्फबाट सन्तोष श्रेष्ठ, टेशनरी एण्ड एजुकेशन मेटिरियल्स इन्डस्ट्रीज एसोसिएसनको तर्फबाट सुनिल गोपाल श्रेष्ठ रहेका छन् । बैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट विमल ढकाल वा पूर्व अध्यक्ष मध्ये एक जनाको उम्मेदवारी हुने बताइएको छ । उम्मेदवारी घोषणा सभामा दुई दर्जनको हाराहारीमा बस्तुगत संघका प्रतिनिधिको उपस्थित रहेको थिए ।

तर यो समूहमा घोषणा गरिएको अधिकांश अनुहारहरु मिलेर जानुपर्छ र मिल्नु पर्छ भन्ने मान्यता राख्छन । केही उम्मेदवारले भने प्रधान र गोल्छा प्यानलमा जान छलफल समेत चलाइरहेको बुझिएको छ ।

‘महासंघ भनेको सबै व्यवसायीहरुको आस्थाको केन्द्र र छाता संगठन हो’ बस्तुगतको तर्फबाट कार्यसमितिमा उम्मेदवारी घोषणा गर्नुभएका प्रकाशसिंह कार्कीले भन्नुभयो– ‘महासंघलाई सबै क्षेत्रको प्रतिनिधित्व सहित विवादरहित ढंगबाट मिलेर अगाडि बढाइनुपर्छ ।’

यस पटकको निर्वाचनमा अध्यक्ष पदको लागि मतदान हुने छैन । हालकी बरिष्ठ उपाध्यक्ष भवानी राणा भने अबको एक महिना पछि स्वतः अध्यक्ष हुनु हुनेछ । गत मंसिरमा सम्पन्न महासंघको विशेष साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेसँगै राणा अध्यक्ष बन्नु हुने भएको हो ।

बिधान संसोधनसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनमा राणाको नेतृत्व संयोग नै हुने भएको छ । उहाँ महासंघको कार्यकारिणी समितिमा पहिलो निर्वाचित सदस्य र हालकी बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । विधान संशोधनसँगै महासंघको सांगठनिक स्वरूप अब संघीय संरचनाअनुसार हुनेछ भने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । महासंघको उक्त विशेष साधारणसभाले ध्वनिमतका आधारमा संशोधन प्रस्ताव पारित गरेको थियो ।

सो सभाले महासंघको च्याप्टरका रूपमा हरेक प्रदेशमा ‘प्रादेशिक उद्योग वाणिज्य संघ’को व्यवस्था विधानले गरेको थियो । यससँगै, अञ्चल तथा क्षेत्रीय उद्योग वाणिज्य संघबाट हुने प्रतिनिधित्व खारेज गरिएको थियो ।

नयाँ विधानले अध्यक्षलाई कार्यकाल दोहो-याउनबाट पनि बञ्चित गरेको छ । विधानले जिल्ला उद्योग वाणिज्य संघहरूको जिम्मेवारी र अधिकारलाई अझ फराकिलो र बलियो बनाएको छ । यस्तै, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको क्षेत्राधिकारसमेत स्पष्ट पारिदिएको छ ।

स्थानीय उद्योग वाणिज्य संघको भूमिका अभिवृद्धि, साना तथा मझौला उद्योगहरूलाई प्रदेशमा बढी सक्रिय हुन प्रोत्साहन गर्ने निर्णय सो साधारणसभाले गरेको थियो ।

सो सभाले महासंघको केन्द्रीय समितिमा पाँच सदस्य संख्या बढाइएको छ । संस्थापक उद्योग वाणिज्य संघहरूबाट एक सिट संरक्षित सिटका रूपमा व्यवस्था गरिएको छ । महासंघको विधानले २०४९ पछि पहिलो पटक पदाधिकारीमा कोषाध्यक्षको व्यवस्था गरेको थियो । केही पूर्वअध्यक्षले भने सो विशेष साधारणसभा बहिष्कार समेत गरेका थिए ।

निजीक्षेत्रको छाता संगठनको रुपम स्थापित महासंघको निर्वाचनले निजीक्षेत्रका सबैखाले व्यवसायीक संघ संस्था आकर्षित गर्ने गर्छ । महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ सदस्य १०५ वटा छन् भने एसोसिएट सदस्य ८४७ वटा छन् । तर एसोसिएटमा भने ७९९ ले मात्रै मतदान गर्न पाउने छन् । त्यसैगरी ९९ वटा वस्तुगत संघ सदस्य छन् । २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij