२०८३ साउन ९ शनिबार

श्रीमतीका हत्यारासहित दुई जनालाई सर्वस्वसहित जन्मकैद

ई आर्थिक    सोमबार, फाल्गुन २३ २०७३
2.6K
Shares
श्रीमतीका हत्यारासहित दुई जनालाई सर्वस्वसहित जन्मकैद

२३ फागुन, लिबाङ (रोल्पा) । आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ ।

घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मनसरीको मृत्यु भएको पुष्टि भएको हुँदा पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

मृतक मनसरीका छोेराले जिल्ला अदालत रोल्पामा दिएको जाहेरीमा बाबु ओसबहादुरले आमा मनसरीलाई धेरै पहिलेदेखि मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै घरेलु हिंसा गर्दै आएको उल्लेख गरिएको छ । श्रीमानको कुटाइका कारण मृतक मनकुमारी पटकपटक माइतीमा बस्दै आएकी थिइन् ।

तीन सन्तानकी आमा मनकुमारीकी छोरीको विवाह भइसकेको, एक छोरा वैदेशिक रोजगारीमा गएको तथा एक छोरा र एक बुहारीसहित श्रीमान् श्रीमती घरमा बस्दै आएकी थिइन् ।

जाहेरी दरखास्तमा उल्लेख भएअनुसार घटना घटेको करिब चार÷पाँच दिन पहिलेदेखि मनसरी र उनका श्रीमान् गाईबस्तुसहित घरदेखि केही टाढाको गोठमा बस्दै आएका थिए ।

गोठमै सामान्य विवादपछि श्रीमतीको हत्या गरी घर पुगेका ओसबहादुरले निराश एवम् हतोत्साहित बन्दै छोरालाई आमा मरेको कुरा सुनाएपछि छोरा घटनास्थल पुगेका थिए । घटनास्थलमा पुग्दा भित्रबाहिर सबैतिर रगत जमेको देखिपछि मृतकका छोरा दीपेन्द्र घर्तीमगरले इलाका प्रहरी कार्यालय होलेरीमा घटनाका बारेमा उजुरी दिएपछि होलेरी प्रहरीले विस्तृत रुपमा छानबीन तथा अनुसन्धान गरी पीडकलाई पूर्पक्षका लागि थुनामा राखेको थियो ।

यसैगरी जौलीपोखरी–२ रोल्पाका ३३ वर्षीय बलबहादुर बुढालाई पनि जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । बुढाले सल्लाको खोटो सङ्कलन गर्ने क्रममा पटकपटक विवाद भएपछि सोही गाविसका ६३ वर्षीय खरवीर बस्नेतलाई ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।

यसरी ढुङ्गा प्रहारबाट बस्नेतको मृत्यु भएको पुष्टि भएपछि जिल्ला अदालत रोल्पाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रोल्पाका न्यायाधीश ज्ञवालीले जानकारी दिनुभयो ।

थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनकी बहिनी (सानीआमाकी छोरी) जालकुमारी नेपालीको संलग्नता रहेको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुने गरी फागुन ३ गते फैसला भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij