२०८३ साउन ९ शनिबार

अर्गानिक तरकारी खेती र बाख्रापालनबाट वार्षिक ४० लाख

ई आर्थिक    आइतबार, माघ २३ २०७३
7.6K
Shares
अर्गानिक तरकारी खेती र बाख्रापालनबाट वार्षिक ४० लाख

२३ माघ, काभ्रे । सङ्खुवासभा घर भई काभ्रेको बालुवापाटी–२ रोहिणीमा नगरकोट एग्रिकल्चरल रिसर्च फार्मको नामबाट फार्म दर्ता गरी काम गर्दै आउनुभएका देवी सिलवाल उदाहरणीय व्यक्ति हुनुहुन्छ ।

उहाँले अर्गानिक तरकारी खेतीबाट वार्षिक रु ४० लाख आम्दानी गर्दै आउनुभएको छ । ४७ वर्षीय सिलवालले करिब १५ वर्षसम्म दुबईको एक प्रतिष्ठित होटलमा व्यवस्थापको जिम्मेवारी सम्भाल्नु भएको थियो । पछि उहाँले विदेशमा गरे जति मिहेनत नेपालमा नै गरे देशको आर्थिक उन्नतिमा आफूले केही योगदान पु¥याउन सकिन्छ भन्ने मनसायले नेपाल आएर सम्भाव्यता अध्ययन गर्नुभयो । बङ्गुरपालनबाट प्रशस्तै आम्दानी गर्न सकिने र अन्तर्राष्ट्रिय बजारमा समेत यसको पहुँच पुग्न सक्ने ठानेर उहाँले बालुवापाटी गाविसमा बङगुरपालन सुरु गर्नुभएको हो ।

विसं २०६९ देखि बङ्गुरपालन गर्नुभएका सिलवालले पछि २०७२ साल वैशाख १२ मा गएको भूकम्प गएर बङ्गुरका लागि आवश्यक भौतिक पूर्वाधारमा केही क्षति भएपनि बङ्गुरपालन गर्न छाड्नुभएन तर भारतले गरेको नाकाबन्दीले आहारा उपलब्ध गराउन कठिन भएकाले नगरकोटमा भएका विभिन्न होटलबाट बाँकी रहेका खाना ल्याएर खुवाउन थाल्नुभयो । बजारमा बङ्गुरको मागसमेत घट्न थालेपछि उहाँले चर्काे घाटाको स्थिति सहनुपरेको बताउनुभयो । “बङ्गुरबाट चर्काे घाटा व्यहोर्नु परेपछि पूर्ण रुपमा बङ्गुर विस्थापन गरेर बाख्रापालनलाई निरन्तरता दिएँ”, सिलवालले भन्नुभयो ।

“फार्म स्थापनापछि बङ्गुरपालनसँगै थोरै मात्र स्थानीय क्षेत्रबाट स्थानीय जातका बाख्रापालन पनि गरेको थिएँ”, उहाँले भन्नुभयो, “बङ्गुरबाट घाटा भएपछि बाख्रापालनलाई बढुवा दिन ठूलो हौसला मिल्यो ।” बालुवापाटी गाविस–२ मा बाख्राका लागि आवश्यक चरण क्षेत्र भएकाले सजिलो भएको सिलवालले उल्लेख गर्नभयो ।

बाख्रापालनको दृष्टिकोणले एकदमै उपयुक्त उक्त क्षेत्र नगरकोट ब्यारेकबाट करिब चार किलोमिटरको दूरीमा छ । आफ्नै व्यक्तिगत लगानीमा रिसर्च फार्मका रुपमा दर्ता गर्नुभएका उहाँले ढुवानीका लागि आफ्नै निजी गाडीसमेत राख्नुभएको छ ।

“आर्थिक रुपमा फार्मबाट निकै फाइदा छ”, सिलवालले भन्नुभयो । विदेशमा गरेको मिहेनतको दाँजोमा नेपालमा नै गर्न सके व्यक्तिगत र राष्ट्रिय रुपमा नै निकै मुनाफा लिन सकिने उहाँको ठम्याइ छ । नेपालमा नै बसेर काम गरी अरूलाई रोजगारी दिने आफ्नो पहिलेदेखि नै सोच भएकाले फार्मको स्थापनापछि आफ्नो सपनासमेत पूरा भएको उहाँले बताउनुभयो । “दुबईमा पनि म आफ्नो निगरानीमा थुपै्र कर्माचारी हेर्ने गरेको थिएँ”, सिलवालले भन्नुभयो ।“विदेशमा आफूले थुपै्र समय बिताउँदा विदेशीको राष्ट्रप्रेम देखेर धेरै कुरा सिक्न पाएँ”, उहाँले थप्नुभयो ।

हाल ४० रोपनी जग्गामा अर्गानिक रुपमा तरकारीसमेत खेती गर्दै सिलवालले बाख्राको मूत्रलाई प्लास्टिक पोखरीमा जम्मा गर्ने गरेको र उक्त मूत्रमा विभिन्न प्राकृतिक जडीबुटी मिसाएर विषादी तयार गरेर तरकारीमा प्रयोग गर्दै आउनुभएको छ ।

उहाँले बाख्रापालनबाट प्रशस्त आम्दानी लिन एक वर्षअघि मात्रै विदेशबाट बोयर जातको बोका मगाउनुभएको थियो । ती बोका आएपछि सिलवालले अझ उन्नत जातका पाठापाठी हुर्काउँदै आउनुभएको छ । अन्य जातका खसीको मासु जस्तोसुकै व्यक्तिले पनि खान नमिल्ने भएकाले यस जातको खसीको मासु सबैले खान मिल्ने भएकाले पनि यसतर्फ आफूले चनाखो अपनाएको उहाँले बताउनुभयो ।

साथै होटल व्यवसाय सञ्चालन गर्ने सोचमा रहनुभएका उहाँ यही आर्थिक वर्षभित्रै होटल निर्माणको कार्यसमेत सुरु गर्ने योजनामा रहेको पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij