म्याग्दी । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले ग्रामिण क्षेत्रको आर्थिक विकासका लागि सहकारीहरुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको शुक्रवार आयोजित नवौ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
सहकारीलाई केवल पैसा किनवेच अर्थात नाफा कमाउने संस्थाको रुपमा नभई सदस्यहरुको सिप, दक्षता र क्षमता अभिवृद्धि गरी उनीहरुलाई आयआर्जनतर्फ केन्द्रीत गर्नु पर्नेमा उहाँको जोड छ ।
अधिकांश बजारका सहकारी र त्यसमा आवद्ध सञ्चालक तथा शेयर सदस्यहरु नाफामुखी बनेको भन्दै जिसीले नाफासंगै सेवा भएन भने त्यो सहकारीको मूल भावना भन्दा बाहिर जाने धारणा राख्नु भयो ।
सहकारीहरुले आफुले सञ्चालन गरेको कारोबार नीति संगत सञ्चालन गर्न, रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न र वित्तीय तथा जोखिम व्यवस्थापन गरेर अगाडि बढ्न उहाँले सहकारीका सञ्चालकहरुलाई आग्रह गर्नु भयो । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला स्तरीय संघहरुको प्रवद्र्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका सल्लाहकार देउप्रसाद छन्त्याल र दोभान कृषि सहकारी संस्थाका अध्यक्ष अमृतदेवी भण्डारीले सहकारी संघले प्रारम्भिक सहकारीमा आवद्ध सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भएको थियो ।
साधारणसभामा प्रगति प्रतिवेदन अध्यक्ष प्रेमबहादुर कार्की, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जमुना आचार्य र लेखा समितिको प्रतिवेदन सुरेन्द्रराज शर्माले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, सचिव रामप्रसाद सुवेदीको सञ्चालन र कोषाध्यक्ष जमुना आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।
साधारणसभाले म्याग्दीमा सञ्चालित सबै सहकारी संघ संस्थाहरुलाई संघमा आवद्ध गराउने, शेयर रकम वृद्धि गर्ने, सहकारीका सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।