बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले जनतालाई उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय बनाउन सकेमा मात्रै गरिवी निवारण संभव रहेको बताउनु भएको छ ।
जनताले उत्पादन गर्ने र विचौलियाले नाफा कमाउने अवस्थाको अन्त्य नगर्दासम्म सिमित व्यक्तिहरुले कमाउने र दुख गरेर उत्पादन गर्ने व्यक्ति विपन्न भैरहने अवस्था आउने भएकाले उत्पादकलाई नै बजारीकरणमा सहभागी गराउनु पर्ने उहाँको भनाइ छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
दुग्ध सहकारीमा आवद्ध किसानहरुले दुध उत्पादन गर्ने, सहकारी संस्थाहरुले संकलन गर्ने र सहकारी संघले विक्री वितरण तथा प्रशोधनको काम गरेकाले संघमा आवद्ध किसानहरु आर्थिक रुपमा सक्षम बन्दै गएको उहाँको भनाइ छ ।
दुग्ध उत्पादक कृषकहरु जस्तै उत्पादनमा लागेका सबै जनतालाई उत्पादनसंगै व्यापार गर्न सिकाउने विषयमा सबै गंभिर हुनु पर्नेमा उहाँको जोड छ । बजारले उत्पादकलाई दौडाउने अवस्थाको अन्त्य गरी बजारलाई उत्पादकले दौडाउने अवस्था सिर्जना गर्न सक्नु पर्नेमा जिसीको जोड थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले दुग्ध उत्पादनको क्षेत्रमा बागलुङ दुग्ध उत्पादक सहकारी संघले गरेको कार्यले आम उत्पादक कृषकहरुलाई उत्साहित बनाएको बताउनु भयो ।
कार्यक्रममा दुग्ध संघको बारेमा संक्षिप्त जानकारी दिदै अध्यक्ष युक्तप्रसाद कंडेलले किसानहरुलाई पशुपालन र कृषि क्षेत्रमा सक्रिय बनाउनका लागि संघले उत्पादन, वचत, विमा र पशु स्वास्थ्य लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । बागलुङमा हाल ५ हजार लिटर दुध उत्पादन भएको र त्यस मध्ये आधा आवश्यकता दुग्ध सहकारी संघले मात्रै पुरा गरेको उहाँले जानकारी दिनुभयो ।
संघले गत आर्थिक वर्षमा ५ करोड ५१ लाख ८४ हजार ४ सय ३० रुपैया बराबरको दुध विक्री वितरण गरेको छ । यस्तै चालु आर्थिक वर्षमा ५ करोड ६८ लाख बराबरको दुध विक्री वितरण गर्ने लक्ष्य संघले लिएको कोषाध्यक्ष बालकृष्ण कंडेलले जानकारी दिनुभयो । संघले गत आर्थिक वर्षमा कुल ८ करोड १२ लाख ९१ हजार रुपैयाको कारोबार गरेको छ ।
बागलुङ बजारमा दैनिक २ हजार लिटर दुध विक्री गर्दै आएको संघले दही, पनिर, छुर्पी, घ्यू, लस्सी लगायतका दुग्धजन्य पदार्थ समेत विक्री वितरण गर्दै आइरहेको छ । संघले छुर्पी उत्पादनका लागि नयाँ प्रविधि शुरु गरेको सो अवसरमा जानकारी दिइएको थियो ।
कार्यक्रम संघका अध्यक्ष युक्तप्रसाद कंडेलको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव धरणीधर सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा सचिव सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बालकृष्ण कंडेलले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कमलप्रसाद शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।