११ माघ, काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन बिना मुलुकको विकास असम्भव रहेको बताउनुभएको छ ।
सहकारी विभागले सोमबार आयोजना गरेको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो – “संविधानले नै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको अवस्थामा सहकारीको सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको छ ।”
मन्त्री थानीले सहकारीको मूल्यमान्यता र सिद्धान्तमा आधारित नयाँ सहकारी ऐन छिट्टै ल्याइने बताउँदै “सहकारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन सहकारी ऐन ल्याउँदैछ, यसले धेरै समस्या हल गर्नेछ ।”
सहकारी तथा गरिबी निवारण सचिव मोहनकृष्ण सापकोटाले सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकताको खाँचो रहेको बताउँदै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको पुँजीलाई सहकारीका माध्यमबाट उत्पादनशील क्षेत्रमा लगाउनु आवश्यक रहेको छ भन्नुभयो ।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले बुझ्न नसक्दा उत्पादन प्रणालीमा जान कठिनाइ भएको बताउनुभयो ।