२०८३ साउन ९ शनिबार

‘घरेलु तथा साना उद्योगीहरु सरकारको आश्वसन र आफ्नो मेहनतले बाँचेका छन्’

ई आर्थिक    सोमबार, पौस ११ २०७३
16.4K
Shares
‘घरेलु तथा साना उद्योगीहरु सरकारको आश्वसन र आफ्नो मेहनतले बाँचेका छन्’

मोहन कटुवालको नाम घरेलु तथा साना उद्योगीको रुपमा मात्रै सिमित छैन । समाजसेवामा समेत चासो राख्ने उहाँ घरेलु तथा साना उद्योगी व्यवसायीहरुको अगुवा तथा छाता संगठनहरुको नेतृत्व तहमा रहेरै काम गरिरहनुभएको छ । उहाँ ग्रील तथा स्टिल व्यवसायी महासंघको अध्यक्ष, घरेलु तथा साना उद्योग व्यवसायी महासंघको बस्तुगत उपाध्यक्ष पदमा रहेर समेत कार्य गर्दै आउनुभएको छ । पछिल्लो समयमा घरेलु तथा साना उद्योग व्यवसायहरुमा पनि विशेष गरी ग्रील तथा स्टिल व्यवसायी महासंघको नाम चर्चामा ल्याउन उहाँ सफल हुनुभएको छ । हरेक अवसरमा उहाँको अगुवाईमा गरिने गतिविधिले महासंघलाई अहिले चर्चामा ल्याउन सफल हुनुभएको छ । व्यवसायीको वर्तमान, समस्या र सम्भावनाका वारेमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

ग्रील तथा स्टिल व्यवसायमा तपाई कहिले देखि संलग्न हुनुभएको हो ? यो व्यवसायमा तपाईको प्रवेश कसरी भयो ?

ग्रील तथा स्टील ब्यवसायमा शुरु गरेको २०४६ सालवाट हो । एसएलसी परिक्षा दिए पछि मैले ग्रील तथा स्टील ब्यवसाय सम्बन्धि उद्योगमा कामको सिलसिलामा प्रबेश गरे र २ बर्ष काम सिकेपछि आफंै उद्योग खोलेर यो व्यवसाय शुरु गरे । मलाई टेक्निकल पेशा र अरु धेरैजनालाई रोजगारी दिन सक्ने पेशा गर्ने चाहना भएको र नेपाल जस्तो कम बिकसित देशमा बिकास निर्माणको कामहरु धेरै भएको र ग्रील तथा स्टील कामको बढी सम्भावना देखेर यो पेशामा लागेको हुँ ।

देशभर हाल कति ग्रील तथा स्टिल व्यवसायीहरु रहेका छन् ? यस्ता व्यवसायी बढी भएको जिल्लाहरु कुन–कुन पर्छन् ?

हाल देशभरमा झण्डै १० हजार ग्रील तथा स्टील उद्योग ब्यवसायहरु रहेका छन् । ग्रील व्यवसाय विशेषगरी सहरी क्षेत्रमा रहेका छन् । जसमा काठमाडौं,  भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, कास्की, रुपन्देही, मोरङ, सुनसरी, झापा, बाँकेमा ग्रील उद्योगको संख्या बढी छन्, भने अन्य जिल्लामा पनि आवश्यकता अनुसार व्यवसायहरु रहेका छन् । बढ्दो सहरीकरणसँगै यो व्यवसाय पनि थपिदै गइरहेको छ ।

ग्रील तथा स्टिल व्यवसायीहरुको समग्र अवस्था कस्तो पाउनुहुन्छ ?

नेपालमा ग्रील तथा स्टील ब्यवसायको राम्रो सम्भावना छ । बिकास निमार्णको पनि पुर्वाधार निमार्णमा बिषेश भूमिका रहेको यो ब्यवसाय काठको बिकल्पको रुपमा बढी प्रयोगमा आएको छ । यो ब्यवसाय सुरक्षाको हिसाबले, सजावटको हिसाबले पुर्वाधार बिकासको हिसाबले नभई नहुने अत्यावश्यक सेवा प्रदान गर्दै आईरहेको ब्यवसाय हो । उपयुक्त ब्यवसायिक बातावरण नभएको अवस्थामा समेत १ लाख ५० हजार जनालाई यो व्यवसायले प्रत्यक्ष रोजगारी दिएको छ । ३० अर्बभन्दा बढीको बार्षिक कारेबार गरी राज्यलाई अर्बौं राजस्व बुझाउदैं आईरहेको छ । यो ब्यवसायबाट घर तथा ठुलाठुला भवनमा आवश्यक पर्ने ग्रील जन्य सामाग्रीहरु देखि लिएर पोल, पुल, टावर, टर्वाईन लगायत मेटल फेब्रिकेटिङ सम्बन्धि सम्पूर्ण कामहरु गरि सेवा प्रदान गदैं आईरहेका छ ।

खासगरी तपाई घेरलु तथा साना व्यवसायीहरुको अगुवा व्यक्तित्वको भूमिकामा हुनुहुन्छ । यो स्तरका व्यवसायीहरुले भोगिरहेका खास समस्याहरु के–के देख्नुभएको छ ?

ग्रील तथा स्टील ब्यवसायमा मैले नेतृत्व बिगत १० बर्ष देखि लगातार रुपमा अध्यक्षको भूमिकामा म रहेको छु । मेरो अनुभवमा लघु घरेलु उद्योगीहरुले भोग्नु परेको मुख्य समस्या भनेको सरकारले यो ब्यवसायलाई ब्यवसायीक पहिचान नदिंंदा र साना व्यवसायीहरुको प्रबद्र्धन र सम्बद्र्धनमा खासै चासो नदिंदा ब्यवसाय फस्टाउन सकेका छैनन् । साना उद्योगीका प्रमुख समस्याहरु मध्ये लघु, घरेलु तथा साना उद्योग सम्बन्धि सरकारको स्पष्ट नीतिको अभाब, श्रमिक समस्या, दक्ष जनशक्तिको अभाव, लामो लोडसेडिङ, नयाँ प्रबिधीको ज्ञानको अभाव, लगानीको सुनिश्चितता नहुनु, उचित बजारको अभाव, बैंक तथा बित्तिय संस्थामा पहुंचको कमी लगाायत लगाायतका धेरै समस्याहरु छन् ।

तपाई घरेलु तथा साना उद्योग महासंघमा उपाध्यक्ष र ग्रील तथा स्टिल व्यवसायी महासंघमा अध्यक्ष हुनुहुन्छ । दुबै संघले देशभरका कति–कति व्यवसायलाई समेटेर अघि बढिरहेको छ ?

ग्रील तथा स्टील ब्यसायी महासंघमा १० हजार ब्यवसायी र १ लाख ५० हजार जनशक्ति संलग्न छन् भने नेपाल घरेलु तथा साना उद्योग महासंघमा ३० हजार लघु घरेलु तथा साना उद्योगी सदस्य रहेको छन् । दुबै महासंघमा नयाँ–नयाँ सदस्यहरुको उत्साहजनक रुपमा प्रवेश भईरहेकाले आगामी दिनमा महासंघमा आबद्ध हुने सदस्यको संख्या बढ्दै जानेछ ।

यी छाता संस्थाले व्यवसायिको हितमा के कस्ता कामहरु गर्दछन् ?

ब्यवसायिका छाता संगठनको हैसियतले यी संगठनहरुले आफ्ना सदस्यहरुको हक हितको संरक्षण गर्दै ब्यवसायलाई ब्यवस्थित गर्ने, ब्यवसायीमैत्री वातावरण बनाउन, सरकारद्वारा ब्यवसायीको हित हुने नीति नियम बनाउने काममा सरकारसंग लबिङ गर्ने, बजार प्रबद्र्धनको काम गर्ने, सभा, सम्मेलन, अन्र्तरक्रिया, भ्रमणलगायतका कार्यक्रमहरु गरेर ब्यवसायीहरुलाई आफूसँग सम्बन्धित व्यवसायको बारेमा थप सुसुचित गर्ने कामहरु महासंघले गर्ने गरेको छ ।

घरेलु तथा साना उद्योगीहरुलाई सरकारको सहयोग र समर्थन कस्तो पाउनुहुन्छ ?

लघु, घरेलु तथा साना उद्योगीहरुलाई सरकारबाट जुन अनुपातमा सहयोग र समर्थन पाउनु पर्ने हो त्यो प्राप्त हुन सकेको छैन् । सरकारले घोषणा गरेको कार्यक्रमहरु पनि समयमा कार्यान्वयन हुन नसक्दा लक्षित वर्गले सरकार घोषणा गरेको सुबिधाहरु प्राप्त हुन सकेको छैन । अधिकांश पहुँचवालाले मात्र सुबिधाको उपभोग गरेको अवस्था छ ।

तपाई व्यवसायीहरुको प्रतिनिधित्व गर्दै सरकारका विभिन्न कार्यकालका प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुलाई भेट्ने, बधाई दिने, ज्ञापनपत्र बुझाउने र आश्वसन लिएर फर्कने गरिरहनुभएको छ । यस्ता आश्वसन पुरा गर्न सरकारले कत्तिको चासो दिएको पाउनुहुन्छ ?

हामी प्रायजसो हाम्रा मागहरु सरकार प्रमुख र सरोकारवाला मन्त्रायल, सम्बन्धित बिभाग कार्यालयहरुमा प्रस्तुत गर्ने गरेका छौं । चरणबद्ध रुपमा हामीले हाम्रा मागहरु प्रस्तुत गर्दै र हाम्रा समस्याहरु बुझाउदै जाँदा जब कन्भिस हुन लागेका हुन्छन् त्यतिवेलै सम्ममा सरकार परिवर्तन भईहाल्छ । एवम् रितले हाम्रा मागहरु ओझेलमा पर्दै जान्छन । तर हामीले राखेका केही महत्वपूर्ण मागहरु पुरा पनि भएका छन् तर कार्यानवयन गर्न कठिन भएको छ सरकारको उद्योग सम्बन्धि नीति नियमहरु स्पष्ट नहुँदा ब्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन सकिएको छैन् । तर खुशिको कुरा सरकारबाट आश्वशन दिने कुरामा अलिकति पनि कन्जुस्याई गरेको पाएका छैनौ सायद आश्वासन मात्र भएकाले होला ।

तपाईहरुका केही नीतिगत समस्या समाधान गर्न लामो समयदेखि पहल गरिरहनुभएको थियो । ती मध्ये के कति पुरा भए ? कति बाँकी छन् ?

हामीले उठाउदै आएको मूख्य माग ग्रील ब्यवसायलाई उपत्यकामा दर्ता लगाईएको प्रतिबन्ध फुकुवा गर्न सफल भएका छौं । तर सरकारले राखेको अव्यवहारिक सर्तहरुका ब्यवसायलाई कानुनि दायरामा ल्याउन सकिएको छैन् । मुखमा पट्टि लगाईदिएर खाना खानु भन्छ सरकार । त्यस बाहेक हामीले राखेका र सरकारले नै पुरा गर्नु पर्ने मागहरुका बिषयमा सरकारको सकारात्मक पहल नभएको हामीले अनुभुति गरिरहेका छौं ।

तपाई त दुई–दुई वटा व्यवसायीका छाता संगठनको महत्वपूर्ण पदमै बसेर काम गरिरहनुभएको छ नि ?

त्यो त हो तर समयको सही ब्यवस्थापन गर्न सकियो भने त्यति धेरै गाह्रो हुदैन । यद्यपी संघ संगठनमा लागेपछि ब्यवसायमा थोर बहुत असर त परिहाल्छ । तर आफ्नो सानो त्याग र मेहनतले समग्र ब्यवसायीको राम्रो हुन्छ भने त्यसलाई उपलब्धिको रुपमा मैले लिने गरेको छु ।

मुलुकको आर्थिक विकासका लागि सरकार र व्यवसायीहरुलाई भन्नै पर्ने केही कुराहरु छन् ?

मुलुकको समग्र आर्थिक  बिकासको लागी निजी क्षेत्रका जायज मागहरु समयमै सम्बोधन गर्ने, ब्यवसायीक बातावरण निमार्ण गर्ने, उद्योग ब्यवसाय सम्बन्धि स्पष्ट नीति नियमहरु ल्याई समयमै कायान्वयन गर्ने, लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धधन र सम्बद्र्धन गर्ने, उर्जा संकट अन्त्य गर्ने, श्रमिक समस्या हल गर्न बिषेश कार्य योजना ल्याई लागू गर्ने लगायतका कामहरु गर्न जरुरी छ । त्यसैगरी व्यवसायीहरुले पनि सबै काम सरकारले गरिदियोस भन्नु भन्दा पनि आफनो क्षेत्रबाट हुन सक्ने काम आफै गर्ने र ब्यवसायीक धर्ममा रहेर ब्यवसाय गर्नु जरुरी छ ।

तपाई विश्वका केही सम्पन्न मुलुकहरुको समेत भ्रमण गरिसक्नुभएको छ । विकासको दृष्टिकोणले नेपाल कत्तिको उपयुक्त मुलुक हो ? नेपालको विकास नहुनुको मूख्य कारण के ठान्नुहुन्छ ?

मैले बिश्वका अन्य मुलुकको भ्रमण गर्दा नेपालमा बिकासको ठुलो सम्भावना देखेको छु । यहाँ अवसरहरु धेरै छन् । बिकास निर्माणका काम नहुनु भनेको यहाँ धेरै काम गर्न बाँकी छ । हाम्रो देश अन्य देशको तुलनामा प्राकृतिक श्रोत र साधनले भरिपूर्ण देश हो यहाँ जलश्रोत, पर्यटन, कृषिको धेरै ठूलो सम्भावना छ । बिभिन्न किसिमको खानी र जडिबुटीको पनि राम्रो सम्भावना छ । अतः नेपाल सरकार र यो देशका राजनैतिक दल देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने हो भने हाम्रो देश बिश्वमान चित्रमा सुन्दर सर्वसम्पन्न देश बन्न सक्छ ।

व्यवसायको अतिरिक्त सामाजिक संघ÷संस्थामा तपाईको सक्रियता कस्तो रहेको छ ?

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षको नाताले यो संस्थामा मेरो बढी अनि सक्रिय भुमिका हुनु स्वभाबिक हो । त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालको बस्तुगत उपाध्यक्षको हैसियतले त्यहाँ पनि मेरो सक्रिय भूमिकाको आवश्यकता रहेको छ । अन्य संघ÷संस्था जहाँ मेरो सहभागिता छ मैले आफनो पदिय जिम्मेवारी सफलताका साथ निर्वाह गर्दै आईरहेको छु ।

यो व्यवसायमा अथवा तपाईको व्यक्तिगत जीवनमा भावि योजनाहरु के–के बनाउनु भएको छ ?

मेरो लक्ष्य भनेको मैले शुरु गरेको कामहरुलाई सफलता पूर्वक सञ्चालन एंव सम्पन्न गर्ने हो । देशभरि सञ्चालित ग्रील तथा स्टील ब्यवसायलाई समय सापेक्ष परिष्कृत र परिमार्जित गरी ब्यवस्थित अनि मर्यादित पेशाका रुपमा स्थापित गर्ने मेरो लक्ष्य हो । त्यसैगरी भर्खरै म प्रबेश गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघमा बस्तुगत उपाध्यक्षको जिम्मेवारी अनुसार महासंघमा आबद्ध र आबद्ध हुन बाँकी सबै बस्तुगत महासंघ र संघहरुलाई महासंघमा आबद्ध गराई उनीहरुमा देखिएका समस्याहरुको पहिचान गरी समस्या समाधान गर्न आवश्यक पहल गर्ने र नेपाल घरेलु तथा साना उद्योग महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा गरिमा उच्च राख्न आफनो तर्फबाट यथासक्य प्रयास गर्ने मेरो लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij